कास्की । पोखरा महानगर क्षेत्र भित्र पर्ने फेवाताल देशकै प्रमुख पर्यटकीय गन्तव्य हो । यही फेवाताललाई लिएर पोखरा महानगरका मेयर धनराज आचार्य र गण्डकी प्रदेश प्रहरी प्रमुख दिनेश आचार्यले घृणित राजनीति गर्दै आएको फेला परेको छ । डिआइजी आचार्य र मेयर आचार्यका निकट व्यक्तिहरुले फेवाताल धमाधम पुरेर क्याफे सञ्चालन गरिरहेको पाइएको छ ।
सर्वोच्च अदालतले फेवाकिनारबाट ६५ मिटर मापदण्ड कायम गरी त्यहाँका संरचना हटाएर हरियाली कायम गर्न दिएको आदेशको उलंघन गर्दै मेयर निकट व्यक्तिहरुले फेवातालको स्वरुप र सौन्दर्य नै विग्रने गरि भौतिक संरचना निर्माण गर्ने कार्य गरिरहेका छन् ।

केहीदिन अघि देखि पोखरा–१८, खपौदीमा तालको पानीबाटै पर्खाल उठाएर क्यालिफोर्निया गार्डेन क्याफे खुलेको थियो । त्यहाँ क्याफेमा कलाकारहरु विजय बराल लगायत पुगेर उद्घाटन समेत भएको थियो । त्यसै क्याफेमा रेष्टुरेन्ट समेत बन्दै छ । सडक र तालबिचको मापदण्डको जग्गामा धमाधम कामदारले संरचना बनाउँदै गरेका देखिन्छन् । क्याफेको पूर्वतर्फ पनि अर्को संरचना बनाउने तयारी भइरहेको देखिन्छ । फेवाको मापदण्डमा पर्ने सडकमै जोडेर भर्खरै रातमाटेमा कफीघर सञ्चालन गरिएको छ । योसँगै अर्काे संरचना पनि बन्दै गरेको देखिन्छ । अधिकारकर्मी रामबहादुर पौडेलका अनुसार अवैध निर्माणबारे वडा, महानगर, प्रशासन सबैतिर जानकारी गराउँदा पनि काम नरोकिएको गुनासो गोरखापत्रकर्मी समक्ष गरेका छन् ।

“फेवातालको मापदण्ड कायम गर्ने काम चलिरहकै बेला उहाँहरू चुक्नुभएको छ । हामी निरन्तर खबरदारी गरिरहन्छौँ,’ पौडेलले भने । फेवाताल अतिक्रमणबारे बारम्बार आवाज उठाउँदै आउनुभएकी अधिवक्ता भगवती पहारी ताल अतिक्रमणलाई अनदेखा गर्नु विडम्बनापूर्ण भएको बताउँछिन् । “उहाँहरूले यस्ता गतिविधि रोक्नुपर्ने हो । त्यति मात्र होइन, तालको सिरानतिर गिटी, बालुवा निकाल्दै, जग्गा पुर्दै गरेको देखिन्छ । देखेर पनि नदेखेको जस्तो गरिएको छ ।” पोखरा महानगर र गण्डकी प्रदेश सरकारको अग्रसरतामा तालको उच्च विन्दु (फ्लोड लेभल) बाट ६५ मिटरमा पोल गाडिसकिएको छ । ताल परिधिको करिब १६ किलोमिटरमा ६११ वटा भौतिक पोल गाडेर ताल क्षेत्र यकिन गरिएको हो ।

तर, मेयर आचार्य निकट व्यक्ति भएकै कारण यो क्याफे र रिसोर्टले उन्मुक्ति पाएको हो । त्यतिमात्रै होइन यो क्षेत्रका अधिकांश होटल तथा रेष्टुराँ ६५ मिटर मापदण्ड भित्रै छन् । तर, महानगर र गण्डकी प्रदेश प्रहरीले अनदेखा गरिरहेको छ ।

पोखरा महानगरपालिका वडा नं. १८ स्थित सेदी डाँडामा बाराही सेदी प्रा.लि.ले निर्माण गरिरहेको पाँचतारे होटल सेदी लक्जरी निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत नगरी गुन्डागर्दी शैंलीमा धमाधम डोजर तथा मेशिन प्रयोग गरी डाँडा कटान गर्ने र त्यहाँबाट निस्किएको माटोले धमाधम फेवातालको सिमसार क्षेत्र पुर्ने काममा विभिन्न व्यक्तिलाई माटो बेच्ने काम गर्दै आइरहेको पोखराबाटै प्रकाशित हुने डन न्युजले खुलाशा गरेको थियो ।

बाराही सेदी लिमिटेड पोखरा–६ का २०८० माघ १२ गते २६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ पोखरा महानगरपालिकालाई जरिवाना समेत बुझाएका छन् ।
फेवातालबाट करिब ५ किलोमिटर माथि पामे क्षेत्रमा भने लालपुर्जा भएका स्थानिय सर्वसाधरण जनतालाई आफ्नो हकभोगको जमिनमा माटो पुर्न मेयर आचार्य र डिआइजी आचार्यले प्रतिबन्ध लगाउँदै आएका छन् । त्यतिमात्रै होइन आफ्नै माटो आफ्नै घर निर्माणका लागि पुर्न लैँजादा समेत प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने गरेको छ । हालै वडा प्रहरी कार्यालय बैदामले बिल बिजक नभएको भन्दै एक टिफरसहितको माटो रोकेर जिल्ला समन्वय कार्यालय पुर्याएको छ ।
महानगरपालिकाका मेयर आचार्यको समुहले बाराही समुहलाई भने डाँडा कटान गरेर फेवाताल पुर्न समेत वातावरणीय प्रभाव मूल्यांकन समेत नगरी भवन निर्माणका लागि अस्थायी ईजाजतपत्र दिएको थियो ।

भवन निर्माणको लागि अस्थायी स्वीकृति प्राप्त भएपश्चात् मात्र जमिन कटानको लागि १ दिनसम्मको जग खन्ने प्रावधानको लागि राजश्व दाखिला विना नैं मेशिनको प्रयोग गर्न अनुमति दिने प्रचलन भएपनि विगत ४/५ वर्षदेखि २ वटा मेशिनले निरन्तर डाँडा कटान गरेर अहिले भने भव्य पाँच तारे रिसोर्ट सम्पन्न हुँदैछ ।
फेवातालको नजिक रहेको डाँडामा डोजर प्रयोग गर्दा त्यहाँको माटो बगाएर तालमा मिसिने स्थानियहरु बताउँछन् । बाराही समुहकै लगानी रहेको पोखराको स्थानिय पत्रिका समाधान दैनिकमा विज्ञापन नै राखेर सेदी डाँडाभन्दा पश्चिमपट्टि फेवातालको मुहानमा रहेका सिमसार क्षेत्र पुर्नका लागि माटो लैजाने सूचना सार्वजनिक रुपमा नै प्रकाशित गरिएको डन न्युजले यसअघि नै सार्वजनिक गरेको थियो ।
पोखरा महानगरले नै गठन गरेको छानबीन समितिले तयार पारेको प्रतिवेदन अनुसार २०७८ सालदेखि नैं जमिन कटान गरिएको र निर्माणास्थलमा भएको माटो मध्ये ५० प्रतिशत सोही स्थानमा उपयोग गरिएको र ५० प्रतिशत निकासी भएको अनुमान गरिएको छ । जम्मा कटान हुने माटोको परिणाममा ३६ हजार ७ सय ७५ घनमिटर र हालसम्म ३० हजार १ सय ४७ घनमिटर माटो कटान भएको उल्लेख गरिएको छ । सहकारी ठगी मुद्दामा हाल कारागारमा रहेका महेन्द्र भोटेको समेत लगानी रहेको यो समुहले ६ अर्बमा लगानीमा निर्माण गर्दै गरेको यो होटललाई आईपिओमा लगेर सर्वसाधरण ठगी गर्ने प्रपञ्चका लागि एनएमबी क्यापिटलसँग सम्झौता गरिएको छ ।

वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नगरी सेदी लक्जरी होटलले भौतिक संरचनाहरु निर्माण तथा डाँडा कटान गर्ने कार्य गरेको हुँदा २०८० वैशाख २४ गते १५ लाख रुपैयाँ जरिवाना गराएको थियो । बाराही सेदी प्रालिको परामर्शदाता नेपाल इन्भाइरोमेन्ट डेभलपमेन्ट कन्सल्ट्यान्ट प्रा.लि.ले पेश गरेको वातावरणीय प्रभाव मूल्यांकनमा समेत चलाखीपूर्ण ढंगले निर्माणका क्रममा उत्खनन् हुने माटो र त्यसको उचित व्यवस्थापनको विषयमा कहीं कतै केही पनि उल्लेख गरिएको छैन ।

आश्चर्य त के छ भने महानगरपालिकाका मेयर धनराज आचार्यका सल्लाहकार परिषद् (विज्ञ समूह)का सदस्य समेत बाराही समुहकै हरि प्रसाद पौडेललाई बनाइएको छ । हरि प्रसादकै छोरा विप्लव पौडेल र उनको लगानीमा सञ्चालित पोखराको लोकल पत्रिका समाधान दैनिकका सम्पादक रामकृष्ण ज्ञवाली र सहकारी ठगीमा यतिबेला कास्की कारागारमा रहेका अपराधिक पृष्ठभूमिका शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ लगायतका पात्रहरु व्यवसायिक साझेदार रहेका छन् ।