काठमाडौँ । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान काठमाडौँको सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।
उनीमाथि गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’का क्रममा बल प्रयोग र दमन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त आन्दोलनका घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनलाई पक्राउ गरिएको हो।
आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको आरोप रिजालमाथि लाग्दै आएको छ। यद्यपि उनले आयोगसमक्ष दिएको बयानमा आफूले सिधै गोली चलाउन आदेश नदिएको दाबी गरेका छन्।
रिजाल जेन-जी आन्दोलनको समयमा काठमाडौँका सीडीओ थिए। सो घटनापछि उनी एक महिनाभित्रै पदबाट हटाइएका थिए। यसअघि सोही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिएको थियो।
प्रहरीले रिजाललाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने तयारी गरेको छ भने अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ।