सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ राज कुमार अर्याल पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिर्आबी) ले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अर्याललाई पक्राउ गरेको हो ।

अर्याललाई काठमाडौँ महानगरपालिका वडा नं. २९ स्थित पुतलीसडकको न्यूप्लाजाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कम्पनीले आफ्ना कर्मचारीहरूलाई छुट्याइएको शेयर बाँडफाँडसम्बन्धी विवरण नियामक निकायलाई पेश गर्दा प्राप्त सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिहरू विभिन्न निकायमा फरक-फरक देखिएको पाइएको छ। यसै आधारमा नेपाल धितोपत्र बोर्ड को प्रारम्भिक जाँचबुझ प्रतिवेदनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरीत कसूर भएको देखाएको हो।

उक्त प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए ।

गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका-५ स्थायी घर भएका ५१ वर्षीय अर्याल हाल काठमाडौँ महानगरपालिका-१६ बनस्थलीमा बस्दै आएका थिए।

यस घटनामा थप अनुसन्धान जारी रहेको शिव कुमार श्रेष्ठ ले जानकारी दिएका छन्।

ट्रेन्डिङ