राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको बैठक आह्वान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । संघीय संसद् सचिवालयमार्फत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन आह्वान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को अधिवेशन बोलाएका हुन्।

राष्ट्रपतिबाट जारी आह्वान अनुसार संघीय संसद्का दुवै सदन-प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आगामी चैत १९ गते बिहीबार दिउँसो २ बजे बस्ने तय गरिएको छ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

संघीय संसद् नेपालको द्विसदनीय विधायिका हो, जसअन्तर्गत २७५ सदस्यीय प्रतिनिधि सभा र ५९ सदस्यीय राष्ट्रिय सभा रहेका छन्। बैठकहरूमा सभामुख चयन, सरकारका नीति तथा कार्यक्रम, बजेट तयारीलगायत महत्वपूर्ण राजनीतिक तथा विधायी एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ।

यस अधिवेशनलाई नयाँ राजनीतिक परिस्थिति र हालै सम्पन्न आम निर्वाचनपछि बनेको शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण मानिएको छ।

ट्रेन्डिङ