ग्राहकको रकम हिनामिना गरेको आरोपमा एनआईएमबी बैंकका कर्मचारी पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत सुनिता बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा बैंकको गाईघाट शाखाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार बैंकको उजुरीका आधारमा बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हाल उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बैंक व्यवस्थापनले ग्राहकको खाताबाट रकम गायब भएको जानकारी पाएपछि आन्तरिक छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा रकम हिनामिना भएको पुष्टि भएपछि बैंकले प्रहरीलाई जानकारी गराएको थियो।

पक्राउ परेकी बानियाँ उदयपुरको त्रियुगा नगरपालिका वडा नं.५ की स्थानीय बासिन्दा हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीसँग प्रारम्भिक बयान समेत लिइसकेको छ। बानियाँले ग्राहकको रकम चोरेको र सो रकम अनलाइन जुवामा प्रयोग गरेको खुलासा भएको हो ।

हाल बानियाँमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दोङले जानकारी दिएका छन्।

ट्रेन्डिङ