तेस्रो नेशनल ‘हर्टिकल्चर एक्स्पो-२०८२’ चैत १९ देखि भृकुटीमण्डपमा हुने

दियोपोस्ट संवाददाता  

काठमाडौं । नर्सरी व्यवसायको प्रवर्द्धन, हरित अर्थतन्त्रको विकास तथा कृषि क्षेत्रमा लगानी र रोजगारी सिर्जनालाई टेवा पुर्‍याउने उद्देश्यले ‘तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८२’ आयोजना हुने भएको छ। उक्त एक्स्पो नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा यही चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुने भएको हो ।

संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गरि नर्सरी, पुष्प, फलफूल, कृषिवन तथा जडीबुटी क्षेत्रका व्यवसायीहरूको साझा महाकुम्भका रूपमा एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएको छ। मेलामा देशभरिबाट ७०० भन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शन तथा बिक्रीका लागि राखिने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिए ।

एक्स्पोमा मलखाद, बीउबिजन, गमला, कृषि औजार तथा आधुनिक प्रविधिसम्बन्धी सामग्रीका स्टलहरू समेत रहने संयोजक गौतमले बताए । मेलामा कुल ६५ वटा स्टलमध्ये ५६ वटा व्यवसायिक, २ वटा फुड, ३ वटा अफिसियल र ४ वटा प्रतिस्पर्धात्मक स्टल रहने उनले जानकारी दिए ।

नेपालमा नर्सरी क्षेत्रमा करिब ११.८३ अर्ब रुपैयाँ लगानी रहेको र वार्षिक ६.४३ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको तथ्याङ्क संघले सार्वजनिक गरेको छ। यस क्षेत्रमा ३ हजार ९०० भन्दा बढी व्यवसायी संलग्न रहेका छन् भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख २० हजार जनाले रोजगारी पाइरहेका छन्।

एक्स्पोमा कम्तीमा ५१ हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ। सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ५० रुपैयाँ तोकिएको छ।

मेलामा नर्सरी व्यवसायीहरूबीच स्वस्थ प्रतिस्पर्धा गराई उत्कृष्टलाई शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरिने बताइएको छ। साथै, दीर्घकालीन योगदान पुर्‍याउने एक जना व्यवसायीलाई ‘दिर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ तथा उत्पादनमुखी व्यवसायलाई प्रोत्साहन गर्न ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ प्रदान गरिने जनाइएको छ।

त्यसैगरी, कृषि क्षेत्रका विषयमा सक्रिय दुई जना सञ्चारकर्मीलाई समेत उद्घाटन समारोहमा सम्मान गरिने कार्यक्रम रहेको छ।

एक्स्पोको सह–आयोजक संस्थाहरूमा पुष्प विकास केन्द्र, वनस्पति विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग पुल्चोक, राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुर तथा बागमती प्रदेश कृषि मन्त्रालय रहेका छन्। साथै विभिन्न निजी तथा सहकारी संस्थाहरूले सहयोग गर्ने जनाइएको छ।

मेला संयोजक रविन कुमार गौतमले एक्स्पोले कृषि उद्यमशीलता प्रवर्द्धन गर्न तथा नयाँ लगानीकर्तालाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

 

ट्रेन्डिङ