ठेक्का सेटिङको आरोपमा व्यवसायी दीपक भट्ट कालोसूचीमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा भट्टको राहदानी कालोसूचीमा राखिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथि अनुसन्धान सुरु गर्दै सोमबार अध्यागमन विभागलाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा अध्यागमनले उनको राहदानी कालोसूचीमा समावेश गरेको जनाएको छ।

भट्टमाथि विभिन्न ठूला ठेक्का तथा खरिद प्रक्रियामा चलखेल गर्ने आरोप लागेको छ। साथै, उनले राजनीतिक पहुँचको प्रयोग गर्दै राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको सेटिङ मिलाउने, र आफ्नो स्वार्थअनुसार काम गर्ने तथा गराउने गरेको समेत आरोप छ।

भट्टको करोडौँको शंकास्पद बैंकिङ कारोबार भेटिएपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । तर निवर्तमान प्रधानमन्त्री केपी ओलीले भट्टलाई सम्पत्ति शुद्धीकरणको कसुरमा उन्मुक्ति दिएका थिए ।

त्यतिखेर विभाग प्रधानमन्त्री कार्यालयकै मातहत थियो । तर, ओलीको दबाबपछि राष्ट्र बैंकबाटै कारबाही गर्नुपर्ने पत्र लेखेर भट्टलाई जोगाइएको थियो । जेन–जी अगुवाले भट्टको सम्पत्ति छानबिन गरी कारबाहीको माग गर्दै पूनः उजुरी दिएपछि भट्ट कालो सुचीमा परेका हुन् ।

 

ट्रेन्डिङ