काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ओलीको पक्राउको विरोधमा चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार एमालेले चैत २४ गतेसम्म जिल्ला तहमा कार्यकर्ता भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने तथा वैशाख ३ गते वडा तहमा सभा आयोजना गर्ने कार्यक्रम तय गरेको छ। त्यसैगरी, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन तथा वैशाख १२ गते काठमाडौंमा बृहत् विरोध सभा आयोजना गरिने जनाइएको छ।
पार्टीले जनसंगठनहरूलाई समेत आन्दोलनमा सक्रिय रूपमा परिचालन गर्ने जनाएको छ। एमाले नेताहरूले ओलीको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण र अलोकतान्त्रिक’ कदम भएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्।
यसअघि ओली पक्राउपछि काठमाडौंका माइतीघर, बबरमहललगायत क्षेत्रमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका थिए। केही स्थानमा प्रहरीसँग सामान्य झडपसमेत भएको थियो।