दुवै मिर्गौला फेल भएपछि ९ वर्षीय बालक जीवन-मरणको दोसाँधमा, उपचारका लागि सहयोगको अपिल

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आश्रन मानन्धर ! काभ्रेको शान्त गाउँमा हाँस्दै-खेल्दै आफ्नो बाल्यकाल बिताइरहेका थिए । तर, एक्कासी उनको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उनी यतिबेला अस्पतालको शैयामा जीवन मरणको दोसाँधमा छन् ।

केही समयअघि अचानक बिरामी परेका ९ वर्षिय आश्रनलाई उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याइएको थियो। उनको उपचारमा संलग्न चिकित्सकले दुवै मिर्गौलाले काम गर्न छाडिसकेको बताएपछि थप उपचारका लागि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो । जहाँ अहिले उनको उपचार भइरहेको छ ।

चिकित्सकका अनुसार उनको शरीरबाट अत्यधिक प्रोटिन निस्कने जटिल समस्या देखा परेको छ । जसको उपचार निकै महंगो र जटिल छ । त्यसमाथि कमजोर आर्थिक अवस्था उनको उपचारमा पहाड बनेर उभिएको छ । दैनिक १५ देखि २० हजार रुपैयाँसम्म उपचार खर्च जुटाउन निकै मुस्किल भएको उनकी हजुरआमा नाता पर्ने कविता सेवाले बताईन् ।

आश्रनका बुआ-आमा लामो समयदेखि सम्पर्कविहीन रहेका कारण उनी पाँचखाल स्थित शिखरपुरमा मावलीको सहारामा रहँदै आएका थिए । हजुरआमा मखमली पर्यालको संरक्षणमा रहेका आश्रन आज त्यही माया खोज्दै अस्पतालको बेडमा लडिरहेका छन्।

नातीको पीडा र आर्थिक समस्याका कारण हजुरआमाका आँखा ओभाना छैनन्। ‘नातिलाई बचाउन पाए हुन्थ्यो,’ भन्ने एउटै कामना बोकेर उनी सहयोगी मनहरूसंग अर्थिक सहयोगको अपिल गरिरहेकी छन् ।

उनकी माइजु आइशा परियार भन्छिन्, ‘आश्रनको साहरा हामी बाहेक कोही छैन । उनलाई बचाउनु हाम्रो दायित्व हो । तपाईंको सानो सहयोगले उनले फेरि हाँस्न, खेल्न र आफ्नो सपनामा अघि बढ्न सक्छन् । कृपया आफु सक्दो आर्थिक सहयोग गरेर आश्रनलाई बचाउन पहल गरिदिनु होला ।’

-आश्रनको उपचारका लागि आर्थिक सहयोग गर्न चाहाने सहयोगी मनहरुले तलको क्यूआर स्क्यान गरि रकम पठाउन सक्नु हुनेछ ।

ट्रेन्डिङ