एसईई परीक्षा भोलिदेखि सुरु, केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण हुने

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड्ले माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि अर्थात् चैत १९ गते बिहीबारदेखि सुरु हुने जनाएको छ। देशभरका हजारौं परीक्षा केन्द्रमार्फत सञ्चालन हुने यस परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बोर्डले जानकारी दिएको छ।

यस वर्षको परीक्षा शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो सातामै हुने तय भए पनि प्रतिनिधिसभा चुनावका कारण तालिका परिमार्जन गर्दै चैत १९ गतेबाट सुरु गर्ने निर्णय गरिएको थियो ।

बोर्डका अनुसार परीक्षालाई व्यवस्थित र समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति, प्रश्नपत्र, सुरक्षा व्यवस्था तथा अन्य प्राविधिक तयारीहरू पूरा भइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार यस वर्ष देशभरका ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

यसपटकको एसईईमा विशेष व्यवस्था स्वरूप उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गरिने बोर्डले जनाएको छ । यसअघि केन्द्रहरूबाट उत्तरपुस्तिका संकलन गरी अन्यत्र परीक्षण गर्ने अभ्यास रहे पनि, यस वर्ष नतिजा छिटो सार्वजनिक गर्ने लक्ष्यका साथ परीक्षा भएकै स्थानबाट मूल्याङ्कन गरिने बोर्डले जनाएको छ।

बोर्डले परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। यसका लागि आवश्यक व्यवस्थापन र समन्वय कार्य तीव्र गतिमा अघि बढाइएको जनाइएको छ।

एसईई परीक्षा नेपालमा विद्यालय तहको महत्वपूर्ण राष्ट्रिय परीक्षा मानिन्छ, जसले विद्यार्थीको शैक्षिक भविष्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।