भारतीय माओवादीका सर्वोच्च कमाण्डरको ‘हत्या’मा नेपाली माओवादीका सर्वोच्च कमाण्डरको ‘मौनता’

रीता बुढाथोकी  

काठमाडौँ । भारतको छत्तीसगढस्थित नारायणपुर जिल्लामा गत बुधबार भारतीय सुरक्षा बलले भारतीय ‘कम्युनिष्ट पार्टी माओवादी’का महासचिव नम्बाला केशवराव उर्फ ‘बसवराजु’कोे हत्या गरे । बसवराजुकोे हत्या प्रकणले अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टी र माओवादी पार्टीहरुमा तरङ्ग पैदा गरिहेको छ ।

यतिबेला भारतीय वामपन्थी पार्टीहरू, बंगलादेश, श्रीलंका र उत्तर अमेरिकी राष्ट्रका कम्युनिस्ट र समाजवादी पार्टीका नेताहरूले ‘बसवराजु’को हत्याको बिरोध तथा भत्र्सना गरेका छन् । बसवराजुको हत्या गरेर भारत सरकारले गंभिर मानवअधिकारको उलंघन गरेको उनीहरुले प्रतिक्रिया दिएका छन् । नेपालमा पनि केही माओवादी घटक पार्टीहरुले बसवराजुको हत्याको बिरोध गरेका छन् ।

यता, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले बसवराजुको हत्यालाई लिएर खुसी मनाउ गरिरहेका छन् । बसवराजुको हत्या भारतीय सुरक्षा बलको ठुलो सफलता भएको भन्दै मोदीले ट्विट मार्फत भनेका छन्– ‘यस उल्लेखनीय सफलताका लागि हामी आफ्ना सुरक्षाबलहरू प्रति गर्व गर्छौं । हाम्रो सरकार माओवादी नामक ‘बुराइ’को अन्त्य गर्न तथा जनताका लागि शान्तिपूर्ण र प्रगतिशील जीवन सुनिश्चित गर्न प्रतिबद्ध छ ।’

भारतीय सत्ता पक्षले बसवराजुको हत्याको बिषयलाई लिएर खुसी मनाउ गरिरहे पनि ‘माओवाद’ बिचार धारा मान्दै लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सकृय जीवन जिइरहेकाहरुलाई भने यो बिषयले पीडा दिएको छ ।

विश्वभक्त दुलाल आहूती नेतृत्वको ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट’ पार्टीले पहिलो पटक बिहिबार नै एक प्रेस विज्ञप्ती जारी गरी हत्याको बिरोध गरेका छन् । विज्ञप्तीमा ‘बसवराजु’ सहित दर्जनौं माओवादी नेता तथा कार्यकर्ताहरूको निर्मम हत्या गरिएको भन्दै घटनाको घोर भत्र्सना तथा माओवादी आन्दोलनमा गम्भीर क्षति पुगेको प्रति गहिरो दुख प्रकट गरेको छ ।
पार्टीका महासचिव आहुतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ,–‘विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक मात्र नभई संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । यस्तो कठिन परिस्थितिमा पनि भारतीय माओवादी पार्टीले झण्डै चार दशकसम्म क्रान्तिकारी आन्दोलनलाई निरन्तरता दिएको साहश र सौर्य सह्र्रानीय छ ।’

विज्ञप्तिमा महासचिव बसवराजुसहितका नेताहरूको हत्या अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमाथि गरिएको गम्भीर प्रहारका रूपमा व्याख्या गरिएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले यस घटनालाई केवल सैन्य कारवाही नभई विचार, संगठन र जनक्रान्तिमाथिको रणनीतिक हमला भनेको छ ।

आहुतिले विज्ञप्तीमा अर्को विषय पनि उठाएका छन् जसमा उनले भूमिगत सशस्त्र संघर्षप्रति घुमाउरो हिसाबले असहमति जनाएका छन् ।

‘विश्व कम्युनिस्ट आन्दोलनले युग सापेक्ष क्रान्तिको कार्यादिशा तय गर्न नसक्नुले निरन्तर क्षतिको श्रृङ्खला बेहोर्दै आउनुपरेको तथ्यलाई समेत थप उजागर गरेको सर्वाधिक महत्वपूर्ण विषयतिर कम्युनिष्ट क्रान्तिकारीहरुको ध्यान जानु आवश्यक छ भन्ने हामी ठान्दछौँ,’ वक्तव्यमा भनिएको छ ।

त्यसलगत्तै, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सहित आहुतिको समेत हस्ताक्षरमा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बसवराजुको हत्याको बिरोध र भ्रत्सना गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,–‘हामी नेपालका कम्युनिस्ट पार्टीहरू भारतीय सत्ताले गरेको यसप्रकारको फासिस्ट घटनाको घोर भ्रत्सना गर्न चाहन्छौँ । र, यस घटनाबाट भाकपा (माओवादी)मा हुन गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कमरेड बसवराजु लगायत सबै सहिदको असीम स्मरण गर्न चाहन्छौँ ।’

नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ र ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी’का महासचिव विश्वभक्त दुलाल आहुतिद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा भनिएको छ,–‘भाकपा (माओवादी)ले वार्ताको सार्वजनिक अपिल गरिरहेको बखत सामान्य पुँजीवादी अन्तर्राष्ट्रिय मानव अधिकारका न्यूनतम मान्यतालाई पनि लत्याएर भारतीय शासकले गरेको हर्कतले भारतीय सत्ता र भू–मण्डलीकृत पुँजीवाद कति क्रूर र हत्यारा छ भन्ने छर्लङ्ग पारेको छ ।’

यता, भाकपा माओवादीसंग गहिरो सम्वन्ध रहेको भनिएको नेकपा माओवादी केन्द्र र त्ससका अध्यक्ष प्रचण्डले भने ‘बसवराजु’को हत्याका बिषयमा यो समचार तयार पार्दा सम्म आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छैनन् ।

माओवादीका अध्यक्ष प्रचण्डले समेत बेलाबखत भारतीय कम्युनिष्ट पार्टी माओवादीसंग भाइचाराको सम्वन्ध रहेको बताउँदै आएका छन् । तर, तिनै भाइचाराको सम्वन्ध रहेको भनिएका भारतीय कम्युनिष्ट पार्टीका सहासचिव ‘बसवराजु’को हत्या हुँदा समेत प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादीले हत्याका बारेमा प्रवक्ता अग्नि सापकोटा मार्फत सामान्य बक्तव्य निकालेका छन् ।

घटना भएको ५ दिन बितिसक्यो । तर प्रचण्ड नेतृत्वको पार्टी लगायत केही माओवादी घटक मानिने पार्टीले यो बिषयलाई गंभिर रुपमा नलिएको पार्टी निकट एक कार्यकर्ताले बताए ।

त्यसो त, यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यपहाडी लोकमार्गमा पार्टीको अभियानमा व्यस्त छन् । माओवादी केन्द्रको अभियान ‘मिसन ८४’ मा केन्द्रित छ ।

बसवराजुको हत्याको विषयमा पार्टी प्रवक्ता अग्नि सापकोटा आफै शनिबारसम्म अनविज्ञ थिए । उनले यो बिषयमा बुझेर मात्र बोल्ने बताए । उनले भनेका थिए,‘मैले यो बिषयमा बुझ्नै बाँकी छ । सबै कुरा बुझेर मात्र भन्छु ।’

यद्यपी, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मिडियामा समेत बसवराजुको हत्या भएको विषय ‘हट केक’ जस्तै बनेको थियो । माओवादी र त्यस पार्टीका नेताले यो बिषयमा ‘बुझेर मात्र प्रतिक्रिया दिन्छु’ भन्नु माओवादी पार्टी क्रान्तिकारी धारबाट स्खलित हुँदै अन्य संसदीय दलहरुको कित्तामा समाहित एक माओवादी नेता बताउँछन् ।

नेकपा माओवादीले नेपालमा भूमिगत रुपमा युद्ध संचालन गरिहेका बेला सन् २००१ मा दक्षिण एसियाली देशहरुका भूमिगत ‘माओवादी पार्टी’हरुको साझा संगठन ‘कोअर्डिनेशन कमिटी अफ माओइष्ट पार्टीज एण्ड अर्गनाइजेशन अफ साउथ एसिया’ (composa) निर्माण गरिएको थियो । उक्त संगठनमा नेपाल, भारत, श्रीलंका, बंगलादेश लगायत दक्षिण एसियाली देशमा क्रियाशिल माओवादी पार्टीहरुको संलग्नता थियो ।

कम्पोसाको सदस्य राष्ट्र भएको नाताले तत्कालिन नेकपा माओवादीले दक्षिण एसियामा जनयुद्धलाई शसक्त बनाउने, साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्ध सशक्त संघर्ष गर्ने र ‘माक्र्सवाद’, ‘लेलिनवाद’को झण्डा उच्च राख्ने प्रतिवद्धतामा हस्ताक्षर गरेको थियो । सोही अनुसार तत्कालिन नेकपा माओवादीले प्रचण्डको नेतृत्वमा (२०५२–०६२)सम्म संचालन गरेको सशस्त्र जनयुद्धमा भारतीय कम्युनिष्ट पार्टी माओवादी (भाकपा)को साथ र सहयोग रहेको बताइन्छ ।

जनयुद्धताका तत्कालिन नेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले भारतीय माओवादी पार्टीबीच ‘भाइचारा’ सम्वन्ध कायम गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । तर, उनले नेतृत्व गरेको ‘नेकपा माओवादी केन्द्र’ले ‘भाकपा’ माओवादीका महासचिव लगायत २६ जना योद्धा मारिदा समेत बेखबर हुनु भनेको माओवादी केन्द्रले यो विषयलाई गंभिर रुपमा नलिएको प्रष्ट हुन्छ ।

जनयुद्धका क्रममा नेपाली माओवादी नेता तथा कार्यकर्ताले भारतीय भूमिमा रहेर नेपालमा युद्ध सम्वन्धि योजना निर्माण गर्थे । छिमेकी मुलुक भएकाले पनि भारतीय भुमि माओवादीका लागि सुरक्षित र माओवादीकै भाषामा ‘कम्फर्ट जोन’ थियो । त्यसमा भाकपा ‘माओवादी’को सहयोग प्रशस्तै थियो ।

२०५७ सालमा तत्कालिन नेकपा माओवादीले पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा ‘महान अग्रगामी छलाङ्ग, इतिहाँसको अपरिहार्य आवश्यकता’ भन्ने शिर्षकमा दस्तावेज नै पारित गरेको थियो । तत्कालिन नेकपा माओवादीले आफ्नो दस्तावेजमै प्रचण्ड पथको एक बिशेषता अनुसार दक्षिण एसियाली राष्ट्र स्तरीय ‘दक्षिण एसिया फिड्रेशन’ निर्माण गर्ने र नेपाललाई क्रान्तिको आधार बनाउने कुरा उल्लेख थियो ।

तर, भुमिगत राजनीति त्यागेर संसदीय राजनीतिमा प्रवेश गरेपछि प्रचण्डले युद्दताका गरेका राजनितिक प्रतिबद्धता र अन्तर्राष्ट्रिय सम्वन्धबाट अलग हुँदै गएको आरोप खेप्दै आएका छन् । कतिले त भन्ने गर्छन् ‘प्रचण्ड हिँजोका प्रचण्ड रहेनन् ।’

 

माओवादी अध्यक्ष प्रचण्डकी नातिनीको विवाहमा भारतीय प्रधानमन्त्रीले दिएको शुभकामना

प्रचण्ड भुमिगत भएर नेपालमा युद्ध चर्कारहेका बेला भारतमा ‘भारतीय माओइष्ट पार्टी’ (एमसिसि) र ‘भारतीय पिपुल्स वार ग्रुप’ गरि दुई कम्युनिष्ट पार्टीहरु भूमिगत अवस्थामा युद्धरत थिए । तर, सन् २००४ मा यि दुई पार्टीबीच एकता भई ‘भारतीय कम्युनिष्ट पार्टी’ माओवादी (भाकपा) निर्माण गरिएको थियो । ति दुई भूमिगत पार्टीबीच एकता गराउन पहल गर्ने ‘एकताका सुत्रधार’ थिए तत्कालिन नेकपा माओवादीका नेता सिपी गजुरेल ।

सिपी गजुरेलकै पहलमा भारतमा दुई संघर्षरत पार्टीबीच एकता भएको थियो । नेपाल र भारतमा युद्ध गरिरहेका माओवादी पार्टीबीचको सम्वन्धको गहिराई त्यसबाट पनि पुष्टि हुन्छ ।

नेकपा (माओवादी क्रान्तिकारी) पार्टीका नेता गजुरेलले भारतीय कम्युनिष्ट पार्टीको एकताको बिषयमा आफ्नो संलग्नताको बारेमा प्रष्ट पार्दै भनेका छन्,–‘दुई भूमिगत पार्टीबीच एकता भइदिए हुन्थ्यो भन्ने हाम्रो सदाशयता थियो । त्यसैले पनि हामीले तत्कालिन समयमा पार्टी एकताका लागि पहल गरेका थियौँ । दुई वटा युद्धरत पार्टी एउटै हुनु हाम्रो लागि खुसीको कुरा थियो ।’

भाकपा (माओवादी)का नेता बसवराजुसंग भेटका बारेमा सुनाउँदै नेता गजुरेलले उनको संघर्षशिल ब्यक्तित्व र कठोर क्रान्तिकारी जीवनको चर्चा गरे । ‘उहाँ एउटा भूमिगत संगठनको नेता हुनुहुन्थ्यो । भूमिगत पार्टीका नेताहरुको जीवन कठोर हुन्छ । अत्यन्तै कठिन अवस्थामा त्यहाँका क्रान्तिकारीहरुले जीवन बिताएका छन् । त्यस मध्येमा उहाँपनि एक हुनु हुन्थ्यो,’ उनले भने,‘कमरेड बसवराजु (भाकपा) माओवादी पार्टीको महासचिव पदमा रहेर जिम्मेवारीपूर्वक अगाडी बढिरहेको योद्धा हुनु हुन्थ्यो । भारतीय कम्युनिष्ट आन्दोलनलाई सहि गति र दिशा प्रदान गर्नमा उहाँको महत्वपूर्ण योगदान थियो ।’

बसवराजुको हत्या भएको बिषयमा आफ्नो पार्टीले धारणा सार्वजनिक गरिसकेको बताउँदै उनले भने, ‘बसवराजुको हत्याले भारतको लोकतन्त्रमाथि प्रश्न उठेको छ । लोकतान्त्रिक शासन व्यवस्थामा कसुर गर्ने व्यक्तिलाई समेत छानबिन गर्ने, मुद्धा चलाउने या हिरासतमा राख्नु पर्ने हो । तर, उहाँलाई गिरफ्तार गरेर अदालतमा प्रस्तुत गर्नुको साटो हत्या गरियो । यस घटनाले भारत सरकार ‘लोकतन्त्र बिरोधी’ हो भन्ने पुष्टि भएको छ । हामीले त्यसको बिरोध तथा भत्र्सना गर्दछौँ ।’

त्यसो त, प्रचण्ड नेतृत्वको माओवादीबाट चोइटिएर नेत्रविक्रम चन्द (विप्लव)ले ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्माण गरे । आफुलाई सबै भन्दा क्रान्तिकारी भन्ने ‘नेपाल कम्युनिस्ट पार्टी’ले समेत बसवराजुको हत्याको बिषयमा आफ्नो धारणा प्रकाशन गरेको छैन ।

बसवराजुको हत्याको विषयमा तपाईको पार्टीको आधिकारिक धारणा के हो त? भन्ने प्रश्नमा पार्टीका प्रवक्ता प्रकाण्डले भने,–‘यो घटना भर्खरकै हो । यो घटना धेरै ठूलो घटना हो । यो घटनासंग सम्बन्धित न्यूजहरु बाहिर आएका छन् । नेपाल कम्यूनिष्ट पार्टी जस्तो जिम्मेवार र क्रान्तिकारी पार्टीले तथ्यसहित, घटनाको जस्टिफिकेशन सहित बोल्नु पर्छ । त्यत्तिकै बोल्न मिल्दैन ।’

घटना भएको पाँच दिन भइसक्यो अहिलेसम्म सत्य–तथ्य बुझ्नु भएको छैन ? भन्ने प्रश्नमा प्रवक्ता प्रकाण्ड भन्छन्,–‘यो घटनालाई लिएर भारतीय कम्युनिष्ट पार्टी माओवादीको स्टेटमेन्ट पहिले चाहिन्छ । क्रान्ति र संघर्ष भनेको यस्तो चिज हो, घटनाहरु घट्छन्, जसलाई प्रायोजित घटना पनि बनाइन्छ । राज्य र सत्ताधारी वर्गले युद्धमा र क्रान्तिका क्रममा थुप्रै साइकोलोजीकल वार पनि लड्छन् । हामीले हेरिराख्या के हो भने, जो बाहिर आइराख्या छ ठुलो घटना हो यो । भारतीय कम्युनिष्ट पार्टी माओवादीको मात्रै नोक्सानको कुरा होइन । भारतीय कम्युनिष्ट पार्टी र क्रान्किारी पार्टीको मात्रै क्षतिको कुरा होइन । बिश्व कम्युनिष्ट आन्दोलनकै अपुरणीय क्षति हो । त्यसैले भारतीय कम्यनिष्ट पार्टी बोलेपछि मात्र हामी बोल्छौँ ।’

उनले बसवराजुको हत्याको प्रारम्भिक सुचनाले आफुलाई निकै मर्माहत र आक्रोशित बनाएको बताए । उनले भने,–‘घटनाको बिषयमा आफुहरुले आवश्यक सत्य तथ्य खोजि गरिहरेका छौँ । त्यो पाए पछि हामी बोल्छौँ । नबोल्ने भन्ने कुरा हुँदैैन ।’

उनको अभिब्यक्तिबाट पनि पुष्टि हुन्छ कि,–नेपाली माओवादी घटक भनिने कम्युनिष्ट पार्टीका नेताहरुले अन्तर्राष्ट्रिय बिषयमा खासै चासो राख्दैनन् । उनीहरुले अन्तर्राष्ट्रिय कम्युनिष्ट नेताको हत्याको विषयलाई फितलो रुपमा लिइरहेको प्रष्ट हुन्छ ।

नेपालका सर्वोच्च कमाण्डरको रहस्यमयी मौनता

नेपाली माओवादीका सर्वोच्च कमाण्डर हुन् प्रचण्ड । २०५२ साल फागुन १ गतेदेखि शुरु भएको सशस्त्र जनयुद्ध नेतृत्व कर्ता र तत्कालिन जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले यस घटनाबारे एक शब्द पनि बोलेका छैनन् ।

मध्यपहाडी लोकमार्गको यात्रामा रहेका उनले पटक पटक मञ्चहरुमा भाषण गरिरहेका छन् । तर, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा भएको यति ठूलो क्षतिबारे केही बोलेका छैनन् । उनको पार्टी नेकपा माओवादी केन्द्रका प्रवक्ताले एउटा सानो वक्तव्य निकालेका छन् । तर, पार्टी अध्यक्षको रुपमा प्रचण्ड भने मौन छन् ।

prabhu bank Add

ट्रेन्डिङ