काठमाडौं । फूटपाथका सामान्य व्यापारी देख्यो भने काठमाडौं महानगरका प्रहरीले अमानवीय हर्कत देखाइहाल्छन् । जीवन गुजारा चलाउनकै लागि फूटपाथमा व्यापार गर्नेमाथि मात्रै होइन टहरा बनाएर ओत लागेकाहरुलाई समेत नगरप्रहरीले डोजर लगाएर चिहिलबिहिल बनाएको घटना रिल्सहरुमा देख्नु भएकै होला ।
गरिबको टहरा र सडक व्यापारीलाई लखेटेर चर्चामा आएका काठमाडौं महानगरका मेयर बालेन साहले धनी र ठूला व्यापारीलाई भने छुट दिएका छन् । उनीहरुलाई महानगरमा बुझाउनुपर्ने कर समेत छुट दिएर साहले सानालाई ‘ऐन’ र ठूलालाई ‘चैन’ भन्ने उखानलाई चरितार्थ बनाएका छन् ।
महालेखा परिक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक ‘लेखा परिक्षण’ प्रतिवेदनले काठमाडौं महानगर कार्यालयले ‘तारे होटल’ र मसाज सेन्टरलाई कर छुट दिएको तथ्य खुलाशा भएको छ ।
महालेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार महानगरपलिकाका ४०७ वटा मसाज एवं स्पा, १०३ स्वीमिङ पुल एवं फुटसल र ७ वटा दोहोरी साँझ दर्ता भएकोमा ऐनमा ब्यवस्था भए अनुसार कुनै पनि दोहोरी साँझ, फुटसल, जुम्वा, मसाज सेन्टर तथा स्पामा मनोरञ्जन कर असुली गरिएको छैन ।
होटल ‘डेला अन्नपूर्ण’ले काठमाडौँ महाजगरपालिकाबाट २५ लाख ७० हजार ६ सय १९ रुपैँया कर छुट पाएका छन् । डेला अन्नपूर्ण काठमाडौँको दरबारमार्गमा अवस्थित तारे होटल हो । होटल ‘रोयल सिंगी प्रा.लि’ले ७ लाख ६ हजार ६ सय ८८ रुपैयाँ छुट पाएको छ ।
त्यस्तै, काठमाडौँको लाजिम्पाटमा रहेको होटल ‘ल्हासा इन्टरनेशनल प्रा.लि’ले काठमाडौँ महानगरपालिकाबाट ५७ लाख ३ हजार ३ सय ३३ रुपैयाँ छुट पाएका छन् ।
काठमाडौँको लैनचौरमा अवस्थित ‘मल्ल होटल’ले महानगरबाट ९ लाख ६९ हजार ९ सय रुपैयाँ कर छुट पाएका छन् ।
त्यस्तै नेपालस्थित विभिन्न विदेशी क्यासिनोले कर छुट पाएको छ । ‘डेल्टइन नेपाल प्रा.लि’बाट १३ करोड ७८ लाख ६३ हजार २५ रुपैयाँ मनोरञ्जन कर असुली गर्नु पर्ने देखिएता पनि महानगरले असुलेको छैन । डेल्टइन नेपाल प्रा.ली.को स्वामित्व परिवर्तन पश्चात पनि ११ करोड ६८ लाख १७ हजार ६३ रुपैयाँ मनोरञ्जन कर दखिला नगराएको महालेखाले जनाएको छ ।
महालेखाको प्रतिवेदन अनुसार ‘गाजोङ्ग इन्टरटेन्मेन्ट’ प्रा.लि.ले १९ करोड ५३ लाख ७० लाख ९५ हजार रुपैयाँ महानगरलाई तिरेको छैन ।
त्यस्तै ‘वेल्लीज नेपाल’ प्रालिले ३६ करोड २९ लाख ३३ हजार ७० रुपैयाँ र ‘वाल्डो डाइनेष्टी इन्टरटेन्मेन्ट’ प्रालिले १३ करोड ६९ लाख ४६ हजार १८ रुपैयाँ मनोरञ्जन कर दाखिला नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महानगरमा दर्ता भएका ‘र्याङ्क इन्टरटेन्मेन्ट’ सर्भिस प्रालि, क्यासिनो एभरेष्ट, ह्याप्पी आवर लगायतका करदाताको बिक्रि रकम जानकारीमा नआएको भन्दै छानबिन गरि मनोरञ्जन कर असुल गर्न महालेखाले सुझाव दिएको छ ।
त्यस्तै कर छुटको हकमा काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८० को दफा २(१०) अनुसार महानगर क्षेत्र भित्र संचालित होटल, रिसोर्ट वा चलचित्र घरको काममा जग्गा भई वा लिजमा लिई होटल रिसोर्ट वा चलचित्र घर निर्माण गरि संचालन भएको करदाताको रकम बक्यौदासहितको सम्पत्ति कर २०८० पौष मसान्त भित्र चुक्ता गरेमा ३० प्रतिशत कर छुट हुने कुरा उल्लेख छ । तर कुनै पनि कर चुक्ता नगरेका करदातालाई समेत महानगरले छुट दिएको पाइएको छ ।