काठमाडौँ । ऐतिहासिक जन–आन्दोलन (२०६२–६३)का घाइते उमेश बराल पछिल्लो एक महिनादेखि पाटन अस्पतालको बेड नम्बर ‘१३४२’ मा छन् । कम्मरमुनी देब्रेपट्टीको जोर्नी र खुट्टामा संक्रमण भई अस्वभाकि दुखाई बढेपछि उनी अस्पताल भर्ना भएका हुन् ।
महत्वपूर्ण राजनीतिक उपलब्धिमा योगदान दिए पनि आफ्नो उपचारमा राज्यले उदासिनता देखाएको उनको गुनासो छ । ‘आन्दोलनमा सहभागी हुँदै गर्दा म २८ वर्षको लक्का–जवान थिएँ । केही गरौँ भन्ने शाहस र हुटहुटी थियो । जोस, जाँगर र क्षमता पनि थियो । आन्दोलनमा प्रहरीको कुटाइका कारण शरिर अंगभंग भयो,’ उनले भने, ‘बैसाखीका भरमा जीवन घिसार्दैछु । काम गरि खान शरिरले दिँदैन । राज्यले हेर्दैन ।’
तत्कालिन शाही सत्ताका विरुद्ध १९ दिने (२०६२ चैत्र २४ देखि ०६३ बैसाख ११ गतेसम्म) राजधानी केन्द्रित आन्दोलनका क्रममा उनी सिराहाबाट राजधानी आएका थिए । त्यस बखत काठमाडौँको लगनटोलमा उनी प्रहरीद्वारा कुटिए । उनको खुट्टा भाँचियो । ढाड, टाउको, र छातीमा गम्भिर चोट लाग्यो । आन्दोलनका क्रममा उनी सडकमै ढले । त्यसबेला मानवअधिकारकर्मीको टोलीले उनको उद्धार गर्यो । उनलाई काठमाडौँ मोडल अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालको उपचारपछि बैशाखीको भरमा घाइते शरिर लिएर उनी घर फर्किए । केहि महिनापछि खुट्टाको प्लास्टर हटाइयो । तर बैशाखी भने छुटेन । किनकी कम्मरको देब्रेपट्टिको भाग नचल्ने भइसकेको थियो ।
बिस्तारै बाहिरी चोट निको हुन थाल्यो । तर भित्री चोट भने यथावत नै थियो । जसका कारण उनी क्यान्सर जस्तो प्राणघातक रोगको शिकार बने । आफन्तको सहयोगमा उनी गृहजिल्ला सिरहाबाट काठमाडौंको ‘हेल्पिङ ह्यान्ड’ अस्पतालमा उपचारका लागि पुगेका थिए । परीक्षणबाट उनलाई कम्मरमुनिको देब्रेपट्टीको जोर्नीमा क्यान्सर अर्थात् ‘ओस्टियोसार्कोमा’ भएको पत्ता लाग्यो ।
त्यसपछि थप उपचारका लागि आफन्तकै सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पताल पुगे । ‘एम्स’ अस्पतालका चिकित्सकले उनलाई किमोथेरापी गर्न सल्लाह दिए । त्यहाँ उनले करिब ४७ पटक किमोथेरापी गराए ।
किमोथेरापी गरेपछि उनको स्वास्थ्यमा निकै सुधार आएको थियो । उपचारमा लागेको ऋणको भारी बोकेर उनी बैशाखीको सहारामा नेपाल फर्किए । त्यस समय उनका बुवा पनि क्यान्सरका कारण जीवन मरणको दोसाँधमा थिए । केही समयपछि क्यान्सरकै कारण बुवाको मृत्यु भयो ।
स–साना बालबच्चा ! क्यान्सरले कमजोर बनेको शरिर ! हरेक ६ महिनाको अन्तरालमा फलोअपका लागि दिल्ली गइरहनु पर्ने वाध्यता ! चरम आर्थिक भार थेग्न उनलाई निकै मुस्किल भयो । वास्तवमा बुवाको मृत्युपछि उनी आफ्नो जीवनको सबैभन्दा कठिन मोडमा आइपुगेका थिए ।
थुप्रै कठिनाई र पीडाका बीचबाट उनले १९ वर्ष बिताए । दृढ आत्मविश्वसका कारण उनले क्यान्सरलाई समेत जित्न सफल भए । तर, उनको जीवनका असहजता भने कायमै थिए ।
आन्दोलनका क्रममा प्रहरीको कुटाइका कारण उनको कम्मर मुनीको हड्डी र मासुको भाग क्षत–विक्षत भएको थियो । एम्स अस्पतालमा अप्रेशनद्वारा भित्रैबाट धागो बाँधेर हड्डी र मासु अड्याइएको थियो । १३ वर्षपछि धागो बाँधिएको भाग फाटेर धागो बाहिर निस्किएपछि उनी थप समस्यामा छन् ।
यतिबेला पाटन अस्पतालको हाड जोर्नी वार्डमा भर्ना भई उनले उपचार गराइरहेका छन् । तर उनको उपचारमा राज्यको उपस्थिति छैन । अस्पतालको बेडबाट उनले राज्यलाई प्रश्न गरिरहेका छन्,–‘आन्दोलनमा धेरैले जीवन गुमाए । जीवन गुमाउनेहरुले शहिदको उपाधी पाए । तिनका परिवारले राज्यबाट सुविधा पनि पाए । तर हामी घाइतेका लागि राज्य नै रहेनछ । हामीले नै लडेर ल्याएको परिवर्तनमा हामी आफै उपेक्षित भयौँ । राज्यले हामीलाई चिन्दैन । आखिर हामीले के पायौँ ?
गाउँबाट ऋण लिएर उपचारका लागि आएका उनी यतिबेला आर्थिक समस्याबाट गुज्रिनु परेको छ । अस्पतालको लामो बसाई हुने भएपछि उपचार खर्च जुटाउन मुस्किल भएको उनी बताउँछन् ।
त्यसो त, जनआन्दोलनका घाइतेलाई नेपाल सरकारले मासिक ‘१८ हजार रुपैयाँ’ जीवन निर्वाह भत्ता गराउँदै आएको छ । तर उक्त भत्ताबाट समेत उनी बञ्चित छन् । किनकी उनको घाइतेसम्बन्धि ‘परिचय पत्र’ बनेको छैन ।
‘म क्यान्सरको उपचारका लागि नयाँ दिल्लीमा थिएँ । त्यतिबेला नेपालमा जनआन्दोलनका घाइतेको ‘परिचय’ पत्र बनाइदै रहेछ । नेपाल बाहिर भएको हुँदा म छुटेँ,’ उनले भने, ‘परिचय पत्रका लागि पछि पनि निवेदन दिएको थिएँ । तर अहिलेसम्म त्यसको सुनुवाई भएको छैन ।’
‘परिचयपत्र’ नभएका कारण उनी मासिक भत्ताबाट मात्रै होइन राज्यले उपलब्ध गराउँदै आएको उपचार खर्चबाट समेत बञ्चित हुनु परेको छ । राज्यले दिएका सेवा र सुविधाबाट बञ्चित भएपछि आफ्नो जीवन नै निरर्थक लाग्ने गरेको उनी सुनाउँछन् ।
नेपाल सरकारले सशस्त्र संघर्ष, जनआन्दोलनका घाइते, भूकम्पका घाइते तथा तराई–मधेश आन्दोलनका घाइतेको सबै उपचार समेट्ने गरी अस्पतालहरुलाई सोधभर्ना दिने कार्यविधि स्वीकृत गरेको छ । तर उमेशको समस्याको गाँठो भने ‘परिचय पत्र’मा अड्किएको छ । परिचय पत्र नभएकै कारण उनी नेपाल सरकारको उक्त कार्यविधिमा अटाएनन् ।
‘हिँजो परिवर्तनका लागि लडेँ, आज आफ्नै जीवन रक्षाका लागि लड्दैछु । राज्यले मेरो समस्या बुझिदिए मेरो जीवन अलि सहज हुन्थ्यो होला,’ उनी भन्छन्,–‘भारतमा जनआन्दोलनका घाइतेलाई त्यहाँको विषेश समारोहमा ‘स्वतन्त्रता सेनानी’ भन्दै सम्मान गरिँदो रहेछ । उनीहरुको बालबच्चा र सम्पूर्ण परिवारको जिम्मा सरकारले लिने रहेछ । तर हाम्रो भने कुनै अस्तित्व नै छैन ।’
परिवर्तनका लागि गरेको योगदानको आधारमा ‘परिचय पत्र’ बनाइदिए आफुले पनि राज्यले दिने सेवा सुविधा प्राप्त सक्ने कुरामा उनको विश्वास छ । यसका लागि पहल गरिदिन सम्वन्धित पक्षलाई उनले आग्रह समेत गरेका छन् ।