काठमाडाैं- तीज पर्व नेपाली हिन्दु नारीहरुको प्रमुख चाड हो । जसको पृष्ठभूमि शिव–पार्वतीको कथासँग जोडिएको छ । यस पर्वमा महिलाले आफ्नो दाम्पत्य जीवनको सुख–समृद्धि र परिवारको कल्याणका लागि ब्रत बस्ने, पूजा गर्ने र सामूहिक मेलमिलाप गर्ने परम्परा छ । तीज केवल धार्मिक विधिमा सीमित नभई महिलाहरुको सामूहिकता, आत्म–अभिव्यक्ति र सामाजिक चेतनाको अवसर पनि बनिरहेको छ । अर्कोतर्फ महिलाहरुलाई पितृसत्तातर्फ समर्पण गराउने प्रपञ्च पनि चलिरहेकै छ ।
तीजलाई ‘नारीहरूको महान् पर्व’ भनेर प्रचार गरिन्छ । दर खाने, रमाइलो गर्ने, नाचगान गर्ने र महिलाले पनि उत्सव मनाउने कुरा त सकारात्मक नै मान्न सकिएला । तर यसको सबैभन्दा विवादास्पद अभ्यास भनेको ‘ब्रत’ बस्ने प्रथा हो । महिलाले दिनभर भोकै–प्यासै बसेर श्रीमानको आयु बढ्छ भन्ने विश्वास गर्नु हिन्दु नारीको परम्परा बनेको छ । वास्तवमा यो विश्वासलाई धार्मिक ‘आस्था’ भन्दा बढी पितृसत्ताले महिलामाथि लादेको अन्धविश्वास भन्नु उपयुक्त हुन्छ ।
धार्मिक आस्थाका नाममा अन्धविश्वास
धार्मिक कथाहरूमा कथित पार्वतीले शिवलाई पाउन ब्रत बसेको प्रसङ्ग छ । आजका अविवाहित नारीहरुले पनि तीजमा ब्रत बस्नु भनेको महादेव जस्तै पति पाउनकै लागि हो त ? के इतिहासमा महादेव भन्ने पात्र थिएकी थिएनन् ? वा महादेव त्यति शक्तिशाली थिए भने आज पार्वतिहरुमाथि चरम हिंसा किन भइरहेको छ ? यो अविवाहित नारीलाई विवाह अघि नै कम्जोर बनाएर भविष्यमा उसको पतिलाई कथित शिव भगवानको रुपमा पुज्य बनाउने र महिलालाई मानसिक रुपमा कमजोर बनाउने खेल बाहेक केही होइन भन्ने मलाई लाग्छ ।
महिलालाई शिव पार्वतीको त्यही कथा सुनाएर, ‘श्रीमानको आयु बढ्छ, घरमा सुख–शान्ति आउँछ’ भनेर व्रत बस्न बाध्य पारिएको छ । यो आम रुपमा महिलामाथि भएको ठूलो संरचनागत हिंसा हो । यो युग विज्ञानको हो । प्रबिधि र सुचनाको हो । महिलाहरुले ईतिहासमा भएको विभेदमाथि प्रश्न गर्नुपर्छ । अब पार्वतीहरुमाथि भएको संरचनागत हिंसाका हिसाब खोज्ने र अधिकार खोस्ने बेला आएको छ ।
अहिलेका महिला आत्मनिर्भर हुँदैछन् । उनीहरु पुरुषसंग मुकाबिला गर्दै अगाडी बढ्न सक्ने हिम्मत राख्छन् । यसरी महिलालाई ‘तिमी भोकै बस, अनि मात्र तिम्रो श्रीमान लामो जिउँछ’ भन्ने सोच कट्टर धार्मिक अन्धविश्वासको नमूना मात्रै हो । आजको महिलाले अन्धविश्वास, रुढिवादका विरुद्ध लड्नु नै आफ्नो मुक्तिको यात्रामा हिँड्नु हो ।
महिला स्वास्थ्यमा खेलवाड गर्ने तीज
तीजमा महिलाले दिनभरि पानी पनि नपिई निराहार ब्रत बस्नु पर्ने धार्मिक मान्यता छ । तर पानी नपिई ब्रत बस्दा महिलाको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुन्छ । खाना र पानी बिना दिनभर भोकै बस्दा रक्तचाप कम हुने, टाउको दुख्ने, कमजोरी तथा डिहाइड्रेशन समेत हुन सक्छ । अझ मधुमेह, उच्च रक्तचाप र पेटसम्बन्धी रोग भएका महिलाका लागि त निराहार ब्रत बस्नु झनै घातक हुन्छ । तर विडम्बना के छ भने—आफ्नो स्वास्थ्य गुमाएर पनि महिलाले श्रीमानको ‘दीर्घायु’का लागि ब्रत बस्नु पर्छ भन्ने धार्मिक विश्वासमा महिलाहरु बाँधिएका छन् ।
स्वतन्त्रतामाथि बन्देज
हरेक मानिस स्वतन्त्र भएर जिउन चाहान्छ । तर, तीजमा ब्रत बस्ने परम्पराका नाममा महिलाले आफ्नो अधिकार र स्वतन्त्रतालाई त्याग्नुपर्ने वाध्यता छ । लामो समयदेखि नारीवादिहरुले महिला स्वतन्त्रताको विषयमा बहस गरिरहेका छन् । के महिलाहरुको जीवन तिनका श्रीमानको लागि मात्रै हो ? महिलाहरुको प्रमुख जिम्मेवारी आफ्ना श्रीमानको स्वास्थ्य र आयु लम्ब्याउनु हो ? उनको कुनै नीजि जीवन र खुसी छैन ? भन्ने जस्ता प्रश्न उठ्ने गर्छन् । तीजमा श्रीमानको आयुका लागि ब्रत बस्ने र उनको खुट्टाको पानी खाएर मात्रै ब्रत तोड्ने परम्पराले महिलाको स्वास्थ्य, स्वतन्त्रता र आत्मसम्मानमाथि नोक्सान पु¥याइरहेको हुन्छ । यसरी हेर्दा तीजको ब्रत वास्तवमा नारी स्वतन्त्रतालाई हरण गर्ने सांस्कृतिक औजार बनेको छ । धर्मले नारीलाई प्रेम, विश्वास र समानताको आधारमा होइन, त्याग र समर्पणको कडीमा मूल्याङ्कन गरेको छ ।
महिला अधिकारमाथि प्रहार
महिला अधिकारको बिषयमा बहस सुरु भएको दशकौँ भइसक्यो । एकातिर महिला अधिकारको कुरा गर्ने र अर्कोतिर परम्परा र आस्थाका नाममा ब्रत बस्दै श्रीमानको खुट्टाको पानी खाने चलन महिला अधिकार बिरोधी कुरा हो । धार्मिक कथा र मिथकलाई वास्तविक जीवनमा जबरजस्ती लागू गरिँदा महिलाले अनावश्यक दुःख भोग्नु पर्ने वाध्यता छ ।
‘भोकै बस्दा श्रीमान लामो समयसम्म बाँच्छन्’ भन्ने सोँच अन्धविश्वास हो, विज्ञान होइन । नारीको जीवन प्रेम र समानतामा आधारित हुनुपर्छ, त्याग र समर्पणमा होइन । तीज जस्ता पर्व नारी स्वतन्त्रताको पर्व हुनु पर्नेमा अन्धविश्वासको पर्व बनिरहेका छन् । ‘भोकै बस्नु संस्कार होइन, आफ्नो अधिकारका लागि बोल्नु संस्कार हो ।’
महिला अधिकारको बहस
त्यसो त, नेपालमा महिला अधिकारका लागि पछिल्ला दशकमा उल्लेख्य प्रगति भएको छ । संविधानले महिलालाई समान अधिकार सुनिश्चित गरेको छ । अर्कातिर राजनीतिक, शैक्षिक र सामाजिक क्षेत्रमा महिलाको सहभागिता क्रमशः बढिरहेको छ । तर आम पढेलेखेका महिलाहरु समेत परम्परा धान्ने नाममा ब्रत बस्ने गरेका प्रशस्तै उदाहरण छन् । समाजशास्त्रीय दृष्टिले हेर्दा तीजको दुई पक्ष देखिन्छ ।
संरचनावादी दृष्टिकोणले तीजलाई पुरुषप्रधान मूल्यहरुलाई बलियो बनाउने पर्वका रूपमा लिइन्छ । पतिको दीर्घायुका लागि ब्रत बस्ने प्रथाले महिलालाई आश्रित भूमिका प्रदान गर्ने तर्क गरिन्छ । नारीवादी दृष्टिकोणले तीजलाई महिलाको आवाज र स्वतन्त्रताको चाहना व्यक्त गर्ने माध्यमका रूपमा लिएको पाइन्छ । आधुनिक तीज गीतहरुले महिलाको पीडा, असन्तुष्टि र विद्रोही स्वरलाई अभिव्यक्त गर्ने अवसर दिएको छ । यसरी हेर्दा तीजले सामाजिक संरचना र महिला चेतनाबीचको द्वन्द्वलाई उजागर गरिरहेको छ । समाज–परिवर्तनको दृष्टिले हेर्ने हो भने तीजलाई महिला एकताको अभ्यास र अधिकारप्रतिको चेतना फैलाउने सांस्कृतिक आन्दोलनको रूपमा हेर्न सकिन्छ ।
सामूहिक दर खाने कार्यक्रम, गीत–नृत्य र सामाजिक भेलाले महिलालाई आपसी सम्बन्ध मजबुत बनाउन र सार्वजनिक क्षेत्रमा आफ्नो स्थान खोज्न मद्दत गरेको छ । यसरी तीजको मौलिक स्वरूप धार्मिक आस्थासँग सम्बन्धित भए पनि यसको सामाजिक र सांस्कृतिक प्रयोगले महिला मुक्तिको यात्रामा महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर त्यो सम्भव हुनका लागि तीजलाई अन्धबिस्वास, भड्किला भोज र बाह्य प्रदर्शनमा मात्र सीमित नगरी, महिला शिक्षा, आत्मनिर्भरता, समानता र अधिकारप्रतिको चेतनासँग जोडिनु आवश्यक छ । तीजलाई रमाइलो तथा नारी एकताको चाडका रूपमा मनाउनु अर्थपूर्ण छ । तर ब्रत बस्दा श्रीमानको आयु बढ्छ भन्ने धारणा धार्मिक अन्धविश्वासबाहेक अरू केही होइन । यसले महिलाको स्वास्थ्यमा चोट पु¥याउँछ, स्वतन्त्रतालाई बाधा पु¥याउँछ र समाजलाई अझै पनि अन्धविश्वासमा डुबाइराख्छ । अब समय आएको छ, हामी तीजलाई संस्कृति, नारी सशक्तीकरण र उत्सवका रूपमा मात्र मनाऔं—अन्धविश्वासका बोझबाट मुक्त पारौँ ।