काठमाडौं । नेपालमा अनलाइन जुवा तथा सट्टेबाजी खेल खेल्ने र खेलाउने कार्यलाई कानूनी रुपमै निषेध गरिएको छ । तर अनलाइन सट्टेबाजी प्लेटफर्म ‘मेटाबेट’ ले भने नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै खुलेआम अबैध गतिविधि गर्दै आइरहेको छ ।
पैसा कमाउन सकिने प्रलोभन देखाएर सर्वसाधारणलाई विभिन्न बैंक खातामार्फत रकम डिपोजिट गर्न लगाएर यो प्लेटफर्मले नेपालमै खुलेआम अबैध धन्दा चलाइरहेको हो । जसबाट नेपाली प्रयोगकर्ता ठगिने क्रम बढ्दो छ ।
अनलाइन जुवा तथा सट्टेबाजी खेलमा सहभागी हुनका लागि सुरुमा विभिन्न बैंक खातामार्फत रकम जम्मा गर्न लगाइन्छ । यस्ता खेल संयोगको आधारमा खेल्ने र खेलाइने गरिन्छ । यसरी प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापी खेल्ने जुवा तथा सट्टेबाजीको कार्यलाई प्रचलित नेपाल कानूनले कसुरका रूपमा मानेको छ । तर ‘मेटाबेट’ ले भने प्रचलित नेपालको कानून विपरित गतिविधि संचालन गर्दै आइरहेको छ ।
नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै छुट्टै अनलाइन सट्टेबाजी वेबसाइट ‘मेटाबेट ६३ एनपी डटकम’ नामक अनलाइन संचालनमा आएको लामो समय भइसकेको छ । विश्वकै चर्चित क्रिकेट लिग आईपीएलको अवसर पारेर यो बेटिङ साइट सञ्चालनमा आएको हो । त्यो समयदेखि अहिलेसम्म यो साइटले अबैध गतिविधि गर्दै आइरहेको छ । तर पनि नियामक निकाय दूरसञ्चार प्राधिकरणले भने यसको वेबसाइटलाई ब्लक गर्न सकिरहेको छैन ।
मेटाबेटले भुक्तानीका लागि सिटिजन्स बैंक, एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैक, नेपाल एसबीआई बैंक र कनेक्ट आईपीएस प्रयोग गर्न सकिने भन्दै लोगो समेत सामवेश गर्दै आइरहेको छ । अबैध रुपमा संचालन हुँदै आएकाे यो अनलाइन सट्टेबाजीले प्रयोगकर्ताको व्यक्तिगत विवरणसमेत माग्ने गरेको छ । खेल खेल्नका लागि प्रयोगकर्ताले नागरिकतामा रहेको पुरा नाम, फोन नम्बर र इमेल आइडी उपलब्ध गराएपछि मात्रै यसमा समावेश हुन पाउनेछन् ।
मेटाबेटले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै फेसबुक, युटुबलगायत सामाजिक संजालमा पैसा तिरेर बुस्ट समेत गरिरहेको छ । यसरी खुलमखुला अबैध गतिविधि गरिरहँदासमेत संचालनमा आएको ‘मेटाबेट ६३ एनपी डटकम’ नामक अनलाइन बन्द हुन सकिरहेको छैन ।
के हुन्छ कारबाही ?
नेपालमा संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट रुपमा उल्लेख गरिएको छ । यो ऐन अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ ।
जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ । दफा ३ को उपदफा १ मा लेखिएको छ – ‘कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।’
ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ । तर नेपालको प्रचलित कानुनले बन्देज गराएको गतिविधिलाई मेटाबेटले भने खुलेआम सञ्चालन गरिरहेको छ, त्यो पनि लामो समयदेखि ।
त्यस्तै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ । तर मेटाबेटले यो ऐनलाइसमेत चुनौती दिँदै खुलेआम फेसबुक, युटुबलगायत सामाजिक संजालमार्फत विज्ञापन गर्दै आइरहेको छ । डलरमा सामाजिक संजाललाई पैसा तिरेर आफ्नो विज्ञापन प्रवद्र्धन गरिरहेको छ ।
त्यसो त नेपालमा मेटाबेट मात्रै होइन, वनएक्स बेट, डाफा बेट, उल्फ ७७७, निजमेगन जस्ता अन्य थुप्रै बेटिङ साइटसमेत खुलेआम सञ्चालित छन् । सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै यस्ता प्लेटफर्मले प्रचारप्रसार तथा कारोबार गर्दै आइरहेको छ । यस्ता गतिविधिमा संलग्न केही व्यक्तिहरु पक्राउसमेत पर्दै आइरहेका छन् । अबैध सट्टेबाजी खेलाएको आरोपमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहितका कलाकारसमेत पक्राउ परे । बल्छी धुर्बेसहितका अरु कलाकारबाट ५ करोड ७४ लाख रुपैयाँको कारोबार भएको विषय बाहिरियो । तर यसरी अबैध रुपमा अनलाइन सट्टेबाजी खेलाउने गिरोहको गतिविधि रोकिन सकेको छैन ।