आरती चटौत : जसले नेपाल टेलिभिजनलाई ‘खरानी’ हुनबाट जोगाइन्

रीता बुढाथोकी  

काठमाडौँ । भदौ २४ गते जेन–जी युवाहरुको आन्दोलनका क्रममा सिंहदरबारस्थित कैयौँ प्रशासनिक भवनहरु जलेर भग्नावशेषमा परिणत भएका छन् । तर नेपाल टेलिभिजन लगायत केही भवन भने सुरक्षित छन् । आन्दोलनकारीको नजर नपुगेर ति भवन सुरक्षित भएका भने होइनन् । त्यहाँ कार्यरत कर्मचारीको बुद्धिमत्तापूर्ण प्रयासले ति भवन जोगिएका हुन् ।

पूर्वतिरबाट गएका आन्दोलनकारीको सबैभन्दा पहिलो निशानामा परेको थियो नेपाल टेलिभिजन । सिंहदरबारस्थित पूर्वी गेटको मुखैमा नेपाल टेलिभिजनको कार्यालय भएकाले पनि पूर्वी गेटबाट छिरेका आन्दोलनकारीले सुरुमै नेपाल टेलिभिजन जलाउने प्रयास गरेका थिए । तर टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौत र केही कर्मचारीको सुझ–बुझपूर्ण प्रयासले नेपाल टेलिभिजन जोगिएको छ ।

हातहतियार र हथौडासहित आएका आन्दोलनकारीले नाराबाजी गर्दै टेलिभिजनको गेट फुटाउन लागे । आरती हतार–हतार बाहिर निस्किइन् । आन्दोलनकारीहरुले गेटमा ड्याङ–ड्याङ हथौडा बजारिरहेका थिए ।

आन्दोलनकारी मध्ये एकजनाले भन्दै थियो– ‘हान हान । आज सबै ध्वस्त बनाइदिने हो । केही बाँकी राख्ने होइन ।’

बाहिरको दृश्य देखेर आरती शुन्य अवस्थामा पुगेकी थिइन् । उनका आँखा आँसुले भरिएका थिए । संकटको बेलामा सावधानीपूर्ण तरिकाले परिस्थितिलाई नियन्त्रणमा ल्याउनु थियो । उनले प्रयास गरिन् ।

नम्र भएर आन्दोलनकारीसंग प्रस्तुत भइन् । उनीहरुलाई साथीको व्यवहार गरिन् । आन्दोलनकारीलाई नेपाल टेलिभिजनको इतिहास सम्झाइदिइन् । ‘नेपाल टेलिभिजन तपाईहरुको पनि हो । टेलिभिजन जलाउनु भनेको आफ्नै इतिहाँस जलाउनु हो । इतिहाँस जलाएर तपाईहरुले के पाउनु हुन्छ ? साथीहरु यस्तो काम नगरौँ ।’

आन्दोलनकारी उनको कुरा मान्ने पक्षमा थिएनन् । आरती भने कुनैपनि अवस्थामा टेलिभिजन जोगाउने अठोट लिएर अन्तिमसम्म आन्दोलनकारीलाई मनाउने कोशिस गरिरहेकी थिइन् ।

‘जे गर्नु छ मलाई नै गर्नु । तर टेलिभिजनमा आगो लगाउन पाउनु हुन्न । नेपाल टेलिभिजन तपाइहरुको आन्दोलनको सपोर्टमा छ । यो संस्था जोगाउनु पर्छ । तपाइको विचार व्यक्त गर्ने थलो सञ्चारमाध्यम हो । सञ्चार माध्यम नै नरहे भोलि आफ्ना विचार कहाँ राख्नु हुन्छ ? यो जनताको टेलिभिजन हो,’ उनले आन्दोलनकारीलाई टेलिभिजनको महत्व बुझाइरहेकी थिइन् ।

उनी आफ्नै ज्यान जोखिममा राखेर करिब ३ घण्टासम्म एक्लै आन्दोलनकारीसंग भिडिरहिन् । उनको कुरा सुनेर आन्दोलनकारी विभाजित भइसकेका थिए । एक पक्ष ‘जलाउनु पर्छ’ भन्नेमा थियो । अर्को पक्ष ‘जलाउनु हुन्न’ भन्ने पक्षमा थियो । यता आरतीकोे हठ कायमै थियो । उनले हारेकी थिइनन् ।

‘आफु सञ्चारकर्मी भएको नाताले पनि आफ्नै आँखा अगाडि सञ्चार संस्था जलेको कसरी हेर्नु ? आन्दोलनकारीलाइ सम्झाइ बुझाइ गर्नु नै उत्तम विकल्प थियो । त्यसैले मैले केही नसोँची टेलिभिजन जोगाउन तिर लागेँ,’ उनले भनिन्, ‘सञ्चार क्षेत्र कुनै पनि आन्दोलनको निशानामा पर्नु हुँदैन । टेलिभिजन त आन्दोलनकारीको पनि साझा थलो हो । त्यसैले टेलिभिजनमा आगो नलगाउनुस् भनेर मैले उनीहरुलाई कन्भिन्स गरिरहेँ ।’

भिडसंग विवेक हुँदैन । मात्र शक्ति हुन्छ । तर त्यो शक्तिमा विवेक भर्न आरतीले कुनै कसर बाँकी राखिनन् । निरन्तर संवाद गरि उनले आन्दोलनकारीलाई मनाउन सफल भएकी थिइन् ।

टेलिभिजनको भौतिक संरचना जोगाउन सडकमा आएकी आरतीको कार्यकक्षमा भने केही हुल छिरेर तोडफोड गरिसकेका थिए । भन्छिन्, ‘कुनै पनि हालतमा टेलिभिजन जलाउन दिन्न भनेर म आन्दोलनकारीको भिडमा आए । पछि मलाई नै टार्गेट बनाए । मेरो कार्यकक्षको कम्प्युटर फुटाइदिए । मेरो ट्याव, ल्यापटप चोरी भयो । मेरो गाडी पनि फुटाइदिए । तर पुरै भवनमा आगो लाग्नबाट बचाएँ । त्यसमै खुसी छु ।’

त्यसो त, सिंहदरबार छिरेका आन्दोलनकारीहरुले पटक-पटक टेलिभिजनमाथि आक्रमण प्रयास गरेका थिए । दिउँसो ४ बजेपछि पूनः एक हुल आन्दोलनकारी टेलिभिजन छिर्न खोज्दै थिए । त्यसबखत टेलिभिजनका अन्य कर्मचारीहरु समेत बाहिर निस्किएर टेलिभिजन जोगाउन पहल गरेका थिए ।

साँझ ५ बजेसम्म आन्दोलनकारीको भिड केही कम भइसकेको थियो । टेलिभिजनमाथि आक्रमण हुन सक्ने संभावित खतरा पनि उत्तिकै थियो । टेलिभिजनका कर्मचारीहरु चनाखो भएर राती अबेरसम्म टेलिभिजनलाई पहरा दिइरहेका थिए ।

‘सबै भन्दा ठुलो कुरा आफ्नो कर्तव्य रहेछ । त्यतिबेला ज्यान भन्दा पनि संस्था जोगाउने कर्तव्य ठूलो थियो हाम्रा लागि । उनीहरुको हातमा हतियार थियो । हामीमाथि हतियार प्रहार हुन पनि सक्थ्यो । हामीमाथि भौतिक आक्रमण पनि हुन सक्थ्यो । हामी नबाँच्न पनि सक्थ्यौँ । तर  आफ्नो ज्यान बचाउने तिर मात्रै सोँचेको हुन्थे भने नेपाल टेलिभिजन जलेको हुन्थ्यो । हाम्रो सञ्चारको इतिहाँस सधैका लागि मेटिन्थ्यो ।’

प्रयास गरेको खण्डमा सिंहदरबारका अन्य भवन पनि जोगाउन सकिने उनको अनुभव छ । भन्छिन्, ‘प्रयास गरेको भए अन्य भवनहरु पनि जोगिने रहेछन् । आन्दोलनकारीलाई कन्भिन्स गरेको भए मान्ने रहेछन् ।’

२४ गतेको घटनामा नेपाली सेनाको भूमिका चित्तबुझ्दो नभएको उनको तर्क छ । ‘हाम्रै आखा अगाडी जब भिड आयो, नेपाली सेना पुरै पछि हट्यो । किन यस्तो गरेको भनेर सेनालाई प्रश्न गर्दा हामीलाई निर्देशन छैन भन्ने जवाफ दिए । त्यसो हो भने मलाई निर्देशन थियो थियो त ?’ उनी भन्छिन् , ‘मैले आफ्नो कर्तव्यबोध गरेर स्वतःस्फुर्त रुपमा ज्यानको बाजी लगाएर आन्दोलनकारीको भिडमा उत्रिएकी थिए । मेरो लागि कुनै प्रोटेक्सन थिएन । मलाई जे पनि हुन सक्थ्यो ।’

टेलिभिजनमा आगो लगाउन नपाएपछि केही आन्दोलनकारीले कार्यालय भित्र छिरेर संचार उपकरणमा क्षती पूर्याएका थिए । जसका कारण नेपाल टेलिभिजनले राती आठ बजेको समाचार बुलेटिन उत्पादन गर्न सकेन । सो रात नेपाल टेलिभिजनको इटहरी प्रशारण केन्द्रले उत्पादन गरेको सामाग्री ‘हुक’ गरेर समाचार प्रसारण गरेको आरती बताउँछिन् ।

नेपाल टेलिभिजन जोगाएर आफ्नो कर्तव्य पुरा गरेको उनको भनाई छ । उनी भन्छिन्, ‘मैले कुनै एक्स्ट्रा काम गरेकी होइन । सत्यको पक्षमा बोल्नुपर्छ । जनताको पक्षमा बोल्नुपर्छ । अन्यायको विरुद्धमा आवाज उठाउनु पर्छ । त्यसका लागि मिडिया बाँच्नु पर्छ भनेरै म भिडमा पसेँ । मैले केही खास गरेँ जस्तो लाग्दैन ।’

भदौ २४ गतेको घटनाले आफुलाई अझै शसक्त र जिम्मेबार बनाएको उनको भनाई छ ।

 

prabhu bank Add

ट्रेन्डिङ