उथलपुथलकारी जेनजी : अपराधिकरण नगरौँ, सिंहदरबार बनाउने जिम्मा दिऔँ

दियोपोस्ट संवाददाता  

भदौ २३ गते झोलामा कितावसहितको एउटा बालकको टाउकोबाट बगिरहेको रगत देखेर आम मानिस आक्रोशित थिए । तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारले २९ जना बालकको हत्या गरेको समाचार फैलिएपछि आक्रोशित जनमतले गरेको विद्रोहले २४ घण्टामा मुलुकका मार्गचित्र बदलिएको छ । नयाँ पुस्ताले राखेको सकारात्मक मागलाई एउटा मुर्ख शासकले दम्ब गरिदिँदा स्थिति कसैको पनि नियन्त्रणमा रहेन ।

नेपालको इतिहासमा यो सबैभन्दा उथलपुथलकारी समय हो भन्ने हामीलाई लाग्छ । २४ घण्टा भित्र युवाहरुले गरेको यो विद्रोह इतिहासमा कसरी दस्तावेजीकरण होला त्यो त समयको गर्भभित्रै छ । जेनजी विद्रोहका क्रममा हालसम्म ७३ जनाले ज्यान गुमाएका छन् । ४ सयभन्दा बढी घाइते छन् । खरानी भएका धेरै मुलुकहरु यस्तै विराट दुखबाट बलियो शक्ति राष्ट्रका रुपमा उदाएका छन् ।

हाम्रा अगाडी कानुन बनाउने प्रमुख अंग रहने संसद भवन छैन । कानुन कार्यान्वयन गर्ने सिंहदबार छैन । कानुनको परिपालना भए नभएको हेर्ने अदालत छैन । अदालतले कैद वा पुर्पक्ष तोकेर कारावास सजाय भोगिरहेका कैदीहरु आज कारागारमा छैनन् । मुलुक अहिले सबैभन्दा ठूलो जोखिम र संभावनाको बिचमा छ । जोखिम यसअर्थमा की यसले निकट भविष्यमा ल्याउन सक्ने ठूलो राजनीतिक संकट, पुराना शक्तिहरुको चलखेल र तीनले मानव जीवनमा ल्याउन सक्ने संकट, लुटपाट, हत्या, हिंसा र बदलाको राजनीति ।

संभावना यसअर्थमा की हामीसँग एउटा त्यस्तो जनशक्ति पनि छ जसले जसले २४ घण्टामा तानासाही हत्यारा शासकको निर्मम अन्त्य गर्न सक्छ । डिस्कर्ड नामक एपबाटै लोकतान्त्रिक पद्धति अपनाएर प्रधानमन्त्री चयन गर्न सक्छ । त्यो साहसी पुस्ताले देश साँच्चै बनाउनका लागि योगदान गर्ने हो भने त्यसले २४ महिनामा शासकीय चरित्रमा व्यापक सुधार ल्याउन सक्छ । किनकी मानव सभ्यताले जहिलेपनि प्रगति र परिवर्तनका लागि लडेको छ ।

हिजो मानिसहरुले ढुंगाबाट आगोको आविस्कार गर्दा त्यो ठूलो चमत्कार थियो । त्यही मानिसले अहिले मिसाइल बनाएका छन् । त्यही मानिसहरुले त्यो मिसाइल रोक्न सक्ने शक्ति पनि आर्जन गरेका छन् । हामीले विभिन्न कालखण्डमा ठूला ठूला परिवर्तनको ढोका खोलेका छौँ । जहानीय राणा शासनका विरुद्धमा भएका संघर्ष होस् वा निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध नेपाली जनताले गरेको विद्रोह । २०५२ सालदेखि नेपाली जनताको तहबाट उठाइएको हतियार र ०६२/६३ को आन्दोलनको संयोजनमा २ सय ४१ वर्षसम्म निरन्तर केन्द्रिकृत शासन गरेको राजाहरुको शासन अन्त्य तीनै नेपालीहरुले गरेका हुन् ।

तर, विडम्बना ! त्यसरी विद्रोहबाट आएको शक्ति भित्र पैदा भएको निजि सम्पतिको मोह, भ्रष्टाचार, कुशासनको चक्रले आज उनीहरु जनताबाट सेनाको सुरक्षा घेरामा बसेर जीवनको याचना गर्नुपरेको छ । हामीले शासन व्यवस्थाहरु पटक-पटक बदल्यौँ तर, शासकीय चरित्र आचरण बदलेका रहेनछौँ । जनताबाट निर्वाचित सांसदबाट बनेको प्रधानमन्त्रीले आफ्ना नाती पुस्ताले ‘बाजेहरु तिमी भ्रष्ट नबन, तिम्रा जीवन शैली अलिसान छन् । तिम्रा छोराछोरी र नातानातिनाको जीवन र आम मानिसको जीवन मेल खाएको छैन ।

तिमी अब कार्यकारी प्रणालीमा जाउ’ भनेर सामान्य अनुनयलाई लोकतान्त्रीक मुलुकका प्रधानमन्त्रीले गोलीले बन्दुकको बलमा समाप्त पार्ने दुष्प्रयास गरे । दियोपोस्टका सम्पर्कमा आएका नानीहरुले भनेका थिए ‘हामीले आन्दोलन सकिएपछि पुलिस अंकलहरुलाई प्रेम पुर्वक फूल दिने भनेर झोलामा ल्याएका थियौँ ।’ तर, विडम्बना फूल र झोलामा किताव बोकेर आएका नातीहरुमाथि गोली दागेर हत्याको उत्सव मनाउने निशंस प्रधानमन्त्री हामीले नै निर्वाचित गरेछौँ ।

यो कुकृत्यका लागि सायद नेपालको कुनैपनि पुस्ताले खड्कप्रसाद ओलीलाई माफी दिने छैन । उनैको सत्ता उन्मादको शिकार कलिला नाती पुस्ताका युवाहरु भएका छन् । नेताहरुको निजि निवास जलेको छ । राज्यको कुनैपनि भौतिक संरचना अब बाँकी छैन । हुन त भौतिक संरचनाले नागरिकलाई दिने त केही पनि होइन ।

२४ भदौमा जलेको सिंहदरबारको कुर्सिमा बसेकाहरुले नागरिकको जीवनस्तर बदल्न सकेको भए सायद त्यो सिंहदरबार उनीहरुले जोगाउन सक्थे । आज देशको कुनैपनि किसान, दलित, गरिव वा आधारभूत वर्गको जीवनको अर्थतन्त्रमा परिवर्तन ल्याउन सकेको भए नागरिकहरुले नजलाउन पनि सक्थे । तर, ऐतिहासिक सभ्यताको रुपमा रहेको सिंदरबार मन्त्री र शासकहरुको सुरक्षित आवास बाहेक केही हुन सकेन ।

आम मान्छेको जीवनसँग नछोएको सिंहदरबारप्रतिको यो तहको आक्रमण पक्कै पनि इतिहासमा दस्तावेजिकरण हुने छ । राज्यको भौतिक संरचनाहरुको क्षती त हामीले पुनर्निमाण गर्न सक्छौँ । तर, यही बहानामा नागरिकको आधारभूत हक, संवैधानिक हक अभिव्यक्ति स्वतन्त्रताको हक खोसियो भने ती दिनहरु झनै अन्धकार हुनेछन् ।

नागरिकको भौतिक जीवनको सुरक्षा गरिरहेको गौरवशाली नेपाली सेनाले नेपालको संविधान २०७२ ले सुरक्षित गरेको नागरिकको संवैधानिक हक पनि सुरक्षित गरेकोमा बधाई दिनुपर्छ । नेपाली सेनाले पुरातन बाटो समातेको भए पक्कैपनि नेपाल कहिल्यै नसकिने गृहयुद्धमा प्रवेश गर्ने थियो ।

कुनैपनि वस्तु, व्यक्ति वा संरचनाको विध्वंश सबैभन्दा सजिलो छोटो समयमा हुन्छ । विध्वंशका लागि समय लाग्दैन । नयाँ पुस्ताको नाममा सिंहदरबार, संसद भवन, अदालत सबै हामीले विध्वंश गरिसक्यौँ । अहिले सिंहदरबार केही भवनहरुमा खरानी मात्रै छ । शिर्ष नेताहरुको अहं र घमण्ड पनि जेनजी आन्दोलनले भत्काइदियो । नेता बन्नका लागि जति समय लागेका थिए । हाम्रा संरचनाहरु पनि लामो संघर्षले बनेका हुन् ।

एउटा नेता हुनका लागि पक्कै पनि ‘लिफ्ट’ र ‘लिड’ जरुरी कुरा हो । हाम्रा नेताहरुले एउटा कालखण्डमा संघर्षपूर्ण जीवनलाई रोजेकै हुन् । तर, जनताको जीवनस्तर बदल्नु पर्ने नेताहरुले आफू अलिसान महल, महँगा ब्राण्डका रक्सी, शुरुङ भित्र पैसा राखेका भिडियो टिकटक र रिल्सहरुमा ट्रेण्डिङ बनिरहेको छ ।

५० औँ वर्ष मेहनतले बनेका नेताहरु विग्रने श्रृङ्खला आजै भएको होइन । यसको एउटा लामो श्रङ्खला छ । जनताको अभिमतबाट निर्वाचित हुने वित्तिकै एउटा नेताको जीवन शैली, उठबस्, खानपान, र आचरणमा किन परिवर्तन आउँछ ? शक्तिमा पुग्ने वित्तिकै एउटा नेता जनताबाट किन हजार माइलको दूरीमा पुगेको महशुस गर्छ ? के नेता हुनु भनेको त्यस्तो हुनु हो र ? जनता र नेताको दूरीले नै आज एउटा वर्ग संघर्षको रुप लिएको छ ।

यसले भविष्यमा आउने नेता र उसको जीवन शैलीलाई पनि एउटा गहिरो शिक्षा दिनेछ । भविष्यमा आउने जेनजीको नेता अब कस्तो हुन्छ ? उसले अपनाउने जीवन शैली कस्तो हुन्छ ? उसले निजि सम्पत्ति र भौतिक सुविधालाई कसरी लिन्छ ? जनताको जीवनसँग अबको नेतृत्व कसरी जोडिन्छ ? डिस्कर्डबाट रातारात परिवर्तन ल्याउन सक्ने जेनजीका नवयुवाहरुले पक्कै सोच्नु भएको होला ।

खैर, भावनामा बहकिएर फेरी हिजोको अध्यारो युग ‘राजतन्त्र’ मा फर्किएर त पक्कै पनि नयाँ दिन आउने छैन । नयाँ दिन आउनका लागि हरेक नयाँ पुस्ताले नयाँ तरिकाले सोच्नुपर्ने हुन्छ । भिक्टोरियन ईतिहासकार जोन सोलिले भनेका थिए,‘इतिहास हिजोको राजनीति हो । वर्तमान राजनीति भोलीको इतिहास हो ।’

नयाँ पुस्ताले अब इतिहास बनाउने समय आएको छ । नव निर्माणको इतिहास । नेपाललाई नयाँ बनाएको इतिहास । नेपाली नागरिकको जीवनस्तर बदल्ने इतिहास । अब हामीसँग सम्भावना बाहेक अरु केही छैन । नयाँ पुस्ताले साँँच्चै राजनीतिलाई उत्पादन, नागरिकको जीवनस्तरसँग बदल्ने अर्थतन्त्र, समावेशी चरित्रको व्यवहार गर्न नेपालले ठूलो संभावनाको ढोका खोल्ने छ ।

जलेको भवन बनाएर होइन, नागरिकको जीवनस्तरमा आर्थिक, वैचारिक, राजनीतिक परिवर्तन ल्याएर समाजलाई साँच्चै परिवर्तन गरौँ । जेनजीलाई अपराधीकरण गर्न तिर नलागौँ । उनीहरुको कुरा सुनौँ । नेतृत्व हस्तान्तरण गरौँ ।

prabhu bank Add

ट्रेन्डिङ