थापाथलीस्थित प्रसुतीगृहमा डेलिभरी गराउँदा शिशुकाे टाउको चुँढियो, पीडितद्वारा नाराबाजी

रीता बुढाथोकी  

काठमाडौँ । चिकित्सकको चरम लापरवाहीका कारण थापाथलीस्थित प्रसुति गृहमा नवजात शिशुको घाँटी चुँढिएको आरोप लागेको छ । पीडित परिवारले अस्पताल प्रशासन विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले अस्पताल प्रशासन र चिकित्सकको गम्भिर लापारवाहीका कारण नवजात शिशुको ज्यान गएको भन्दै क्षतिपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

आफ्नो नवजात शिशुको घाँटी चुँढिएको बारे अस्पतालले चित्तबुझ्दो जवाफ नदिएको पीडितको आरोप छ । उदयपुर कटारी घर भई हाल गोंगबुस्थित माछापोखरी बस्दै आएका दान बहादुर राइले आफ्नी २२ वर्षिया श्रीमति प्रेमिका तामाङलाई बुधबार राती सुत्केरी ब्यथाले च्याँपेपछि तत्कालै थापाथलीस्थित प्रसुती गृहमा लिएर आएका थिए ।

अस्पताल पुग्दा प्रेमिकाको अवस्था सामान्य भए पनि अस्पतालका डाक्टरले शल्यक्रियाद्वारा बच्चा निकाल्नु पर्ने भन्दै उनलाई रातको १ बजे शल्यक्रिया कक्षमा लिएर गएको दानबहादुर बताउँछन् ।

तर, डाक्टरले घण्टौँसम्म बच्चा र सुत्केरीका बारेमा कुनै जानकारी नदिएको र १ बजेतिर डाक्टरहरु एक आपसमा कानेखुसी गरिरहेको देखेपछि दान बहादुर सशंकित भएका थिए ।

‘मलाई भित्र जान पनि दिइएन । साढे ३ बजेतिर मलाई डाक्टरले आमाको पेटभित्रै बच्चा मरेको रहेछ, हामीले अप्रेशन गरेर निकालेका छौँ,’ उनले भने,‘आमाको अवस्था सामान्य छ भनेका थिए । मैले डाक्टरको कुरा विश्वास गरेँ । तर पछि हेर्दा त बच्चाको घाँटी नै चुँढिएको रहेछ । चाँटीको चारैतिर सिलाइएको थियो ।’

मृतक शिशुको लिम्बु परम्परा अनुसार दाहसंस्कार गर्नका लागि बिहिबार बिहान ९ बजे तिर आफुन्तले शव निकालेका थिए । सो क्रममा आफुहरुले शिशुको घाँटी चुँढिएको देखेको दानबहादुरले बताउँछन् ।

यता प्रसुतीमा संलग्न डाक्टरका अनुसार अप्रेशन कक्षमा लैजानासाथ शिशुको टाउको निस्कएको थियो । त्यसपछि डाक्टरहरुले सामान्य तरिकाबाटै प्रसुती गराउने कोशिस गरेका थिए ।

टाउको निस्किएको निकै बेरसम्म बच्चाको शरिर बाहिर ननिस्किएपछि नवजात शिशुको टाउकोमा समातेर तानेको प्रसुतीमा संलग्न एक चिकित्सकले बताए । उनले भने, ‘हातले तान्न खोज्दा बच्चा निस्किएन । बच्चाको टाउको मात्रै हातमा आयो, शरिर आमाको पेटमै छुट्यो । त्यसपछि हामीले हतार–हतार अप्रेशन गरेर पेटभित्र छुटेको शरिर पनि निकाल्यौँ । अहिले आमाको अवस्था सामान्य छ । आमालाई भने बचाउन सफल भयौँ ।’

टाउको मात्रै निस्किएको अवस्थामा अन्य शिशुको पनि टाउकोमै समातेर तान्ने गरेको उनले बताए ।

अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले अस्पतालको इतिहाँसमै पहिलो पटक यस्तो घटना भएको बताए । यो घटना हुनुमा अस्पतालको लापरवाही नभएर आमाको पेटमै बच्चा कमजोर भएका कारण यस्तो घटना हुन पुगेको उनको भनाई छ ।

केही दिन पहिले नै आमाको पेटमा पानी जमेको र सोही पानीका कारण शिशुको शरिरका हरेक अंग कमजोर हुन पुगी यस्तो घटना भएको अस्पतालको दाबी छ ।

डाक्टर अधिकारीका अनुसार अस्पतालले पीडित परिवारलाई निशुल्क उपचार र जीवन रक्षाका लागि रोजगारीको व्यवस्था समेत गरिने बताए ।
तर, दानहादुर डाक्टरको भनाइमा सहमत छैनन् । उनले डाक्टरको चरम लापरबाही र गम्भिर त्रुटीका कारण आफ्नो नवजात शिशुले ज्यान गुमाउनु परेको भन्दै प्रसुतीमा संलग्न डाक्टरलाई कारबाहीको माग गरेका छन् ।

‘डाक्टरको लापरबाहीले मेरो बच्चा मर्यो । मान्छेको ज्यान बचाउँछु भनेर बिस्वास गरेका डाक्टरले नै मेरो बच्चाको घाँटी निमोठे । मेरो बच्चाको घाँटी छिनाउने डाक्टरलाई कानुन अनुसार कारवाही हुनुपर्छ । म शव बुझ्दिन,’ दानबहादुरले भने ।

पीडित र पीडितका आफन्तले यतिबेला अस्पताल परिसरमा डाक्टरको लापरवाहीका विरुद्ध नारावाजी गरिरहेका छन् ।

यता, अस्पतालको आइसियु कक्षमा प्रेमिकाले आफ्नो नवजात शिशुको प्रतिक्षा गरिरहेकी छन् । उनलाई आफ्नो बच्चाको बारेमा केही जानकारी नगराइएको दानबहादुरले बताए ।

 

prabhu bank Add

ट्रेन्डिङ