ओली र लेखकलाई अग्रिम कमिशन बुझाइएको प्रहरीको पोसाक खरिद ठेक्का रद्द

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक र तत्कालिन प्रहरी महारिक्षक दिपक थापाको योजनामा गरिएको प्रहरीको पोसाक खरिदको ठेक्का रद्द भएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ४८ करोड रुपैयाँ घोटाला हुने अग्रिम कमिशन लिएर प्रक्रिया टुंगो लगाएको ठेक्का समेत वर्तमान सरकारले रद्द गरिदिएको हो ।

ठेक्का रद्द भएको सुचना आजको गोरखापत्रमा समेत प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयको यही असोज १० गतेको निर्णयको आधारमा यो ठेक्का रद्द भएको हो । प्रधान कार्यालयका अनुसार गत साउन ५ गते आह्वान गरिएको यो ठेक्का सार्वजनिक खरिद ऐनको दफा २६ को उपदफा १ खण्ड ग बमोजिक रद्द गरिएको हो ।

तत्कालिन केपी ओली सरकारकै पालामा ठेक्का प्रक्रिया शुरु भई जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आर्थिक प्रस्ताव आह्वानको निर्णय भएपनि आन्दोलनका कारण रोकिएर असोज ३० गते भएको थियो । तर, सोहीदिन गृहमन्त्री नियुक्त भएका ओम प्रकाश अर्याललले ४८ करोड घोटाला गरेको भन्दै राजधानी दैनिकले झूटो समाचार प्रकाशन गरेको थियो ।

नेपाल प्रहरीका प्रमुख चन्द्र कुवेर खापुङलाई समेत विवादमा ल्याएर समाचार प्रकाशन गरिएको थियो । तर, खापुङ भने ठेक्को प्रक्रिया नै सम्पन्न नभएको बताउँछन् ।

‘यो ठेक्काको प्रक्रिया सकिएको छैन । आर्थिक प्रस्ताव समेत खोलिएको छैन । हुँदै नभएको विषय समाचारमा आएको हो,’ उनले दियोपोस्टसँग भने ।

स्रोतका अनुसार तत्कालिन गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख दिपक थापाले ठेकेदार ज्ञानेन्द्र बस्नेतसँग अग्रिम कमिशन बुझेर यो ठेक्का शुरु गरेका थिए । बजारमुल्य र अघिल्लो वर्षभन्दा ५ गुणा महँगोमा पोशाक खरिद गर्न ठेक्का खोलिएको थियो । गत साउन ११ गते नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भएपनि अख्तियारले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएकै भरमा उन्मुक्ति दिएको थियो । हालका आइजीपी खापुङ यो ठेक्का रद्द गर्ने पक्षमै थिए । तर, उनलाई समेत अनावश्यक विवादमा ल्याएर केही संचार माध्यमले ठेकेदारकै स्वार्थ अनुसार समाचार बनाएको आरोप छ ।

गत भदौ ३० गते गृहमन्त्रीको पदभार ग्रहण गरेका ओम प्रकाश अर्याल आउनुभन्दा १ महिना १३ दिन अघि अर्थात २०८२ साउन ११ गते नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कोटाबाट नियुक्त भएका अख्तियार प्रमुख प्रेम राईले यो उजुरीमाथि अनुसन्धान नै गरेका थिएनन् ।
प्रहरी प्रधान कार्यालयले चुस्ता, म्याट्रेस, लत्ता कपडा, बेल्ट, बुटलगायतको सामान माग थियो ।

बोलपत्रमा ४५ हजार सेट कम्लिट चुस्ता ड्रेस, ४० हजार जोर डीएमएस बुट (ब्ल्याक लेदर बुट), १६ हजार थान पार्का ज्याकेट, पाँच हजार पाँच थान क्यायर म्याट्रेस, ३५ हजार थान मिन्क ब्यांल्यकेट, ५० हजार मिटर वुमन सर्ट क्लोथ, ३० हजार जोर स्पोर्ट सुज, एक लाख पाँच हजार मिटर कटर्न सर्ट क्लोथ, ८६ हजार मिटर कटन पाइन्ट क्लोथ, ३५ हजार मिटर उलन पाइन्ट क्लोथ माग गरिएको थियो ।

त्यस्तै, ११ हजार जोर टोप बुट, १५ हजार सेट ट्य्राकसुट, १२ हजार पाँच सय थान उलन स्वेटर, १५ हजार सेट अण्डर ट्राउजर भेस्ट सेट, आठ हजार थान स्लिपिङ ब्याग, ११ हजार थान पिन्चो, छ हजार पाँचसय थान रुकस्याग ब्याग, एक हजार दुई सय थान स्नो ज्याकेट, १५ हजार थान फ्लोरोसेन्ट सस्पेन्सन बेल्ट माग गरिएको थियो ।

prabhu bank Add

ट्रेन्डिङ