काठमाडौं । पेरूमा हालैका दिनहरूमा जेनजी युवा पुस्ताले भ्रष्टाचार र जबरजस्ती नीतिविरुद्ध सडक आन्दोलन गरिरहेका छन् । प्टेम्बर २० बाट सुरु भएको युवाहरुको आन्दोलनले सेप्टेम्बर २७ मा राजधानी लिमा अशान्त बनेको थियो ।
हजारौं युवाहरू राष्ट्रपति दीना बोलुआर्तेको विरोधमा सडकमा उत्रिएका छन् । उनीहरूले ‘न्याय चाहियो’ र ‘भ्रष्टाचार अन्त्य गर’ जस्ता नाराहरू घन्काए।
प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गर्दा प्रदर्शनकारीले ढुंगामुढा र आगजनीमार्फत प्रतिकार गरे। विरोध सेप्टेम्बर २० बाट सुरु भएको हो । पेरु सरकारले नयाँ पेन्सन प्रणाली लागू गरेपपछि १८ वर्ष पुगेका प्रत्येक नागरिकलाई कुनै न कुनै पेन्सन संस्थामा अनिवार्य रूपमा जोडिनुपर्ने बनाएको छ।
धेरै युवाले यसलाई ‘जबरजस्ती असुली’ भनेका छन्। उनीहरूको प्रश्न छ, ‘रोजगारी नपाउने युवाले पेन्सनका लागि पैसा कहाँबाट जुटाउने?’ पेन्सन प्रदायक संस्थामाथि पहिले नै भ्रष्टाचार र पारदर्शिताको अभावको आरोप रहेको कारण यो नीति झन् विवादास्पद बनेको छ।
पेरूको राष्ट्रिय तथ्यांक एजेन्सी आइएनइआई का अनुसार, देशको झन्डै २७ प्रतिशत जनसंख्या १८ देखि २९ वर्ष उमेरका छन् । यही पुस्ता अहिलेको आन्दोलनको केन्द्रमा छ। उनीहरूको माग छ, ‘सरकारले जबरजस्ती पेन्सन थोपर्ने होइन, रोजगारी, शिक्षा र सुरक्षा सुनिश्चित गर्नुपर्छ।’
रोचक पक्ष के छ भने, प्रदर्शनकारी युवाहरूले जापानी एनिमे वन पिस का पात्र “लूफी” लाई आफ्नो प्रेरणा बनाएका छन्। लूफी न्यायका लागि लड्ने पात्र हो, र प्रदर्शनकारीहरू उसको चिनारी अंकित झन्डा बोकेर प्रदर्शनमा देखिएका छन्।
विद्यार्थी नेता लियोनार्डो मुन्योस भन्छन्,’लूफी जहाँ गयो, त्यहाँका जनता तानाशाहीबाट मुक्त भए। पेरूमा पनि अब चुप बस्ने समय छैन।’
अर्का विद्यार्थी सान्टियागोले थपे, ‘हामी मृत्यु र भ्रष्टाचारलाई सामान्य रूपमा स्वीकार्न थाकिसकेका छौं। अब जनता डराउने होइन, सरकारले डराउनुपर्छ।’
विश्लेषकहरूका अनुसार यो असन्तोष केवल पेन्सन नीतिसम्म सीमित छैन। प्रिन्सटन विश्वविद्यालयका राजनीतिक विज्ञ जो–मेरी बर्टका अनुसार, “पेरूमै लोकतान्त्रिक संस्थामाथि दबाब बढ्दै गएको छ। सरकार अदालत र निगरानी निकायहरूलाई कमजोर बनाउँदैछ।” उनले यस अवस्थाको तुलना १९९० को दशकका तानाशाह अल्बर्टो फुजिमोरी शासनसँग गरे।
बोलुआर्ते प्रशासनप्रति जनविश्वास घट्दो क्रममा छ। इन्स्टिच्युट अफ पेरुभियन स्टडिजको जुलाई रिपोर्टअनुसार, राष्ट्रपतिको लोकप्रियता २.५ प्रतिशतमा झरेको छ भने संसदप्रतिको विश्वास मात्र ३ प्रतिशत छ।
प्रदर्शनको प्रभाव देशको प्रमुख उद्योगमा समेत देखिन थालेको छ। पेरू विश्वकै तेस्रो ठूलो तामाको उत्पादक देश हो। तर हालको विरोधका कारण हडबे मिनरल्स कम्पनीले आफ्नो ‘कन्स्टान्सिया’खानी अस्थायी रूपमा बन्द गर्नुपरेको जनाएको छ। यसले पेरूको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने चेतावनी दिइएको छ।