काठमाडौं । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको अभियोगमा कल्याण उपकार बहुउद्देश्यीय सहकारी संस्थाका सिईओ रामहरी अधिकारी पक्राउ परेका छन् । केही महिनाअघि मात्रै सिइओ नियुक्त भएर आएका उनले यसअघि कार्यरत एक सहकारी डुबाएर ठगी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
टोखास्थित रहेको साई स्वागत बचत तथा ऋण सहकारीको करिब करोडौँ लाख रुपैयाँ हिनामिना गरेको उनीमाथि आरोप छ ।
बचतकर्ताको करोडौं रकम ठगी गरेपछि सहकारीका व्यवस्थापक दिल बहादुर बस्नेतले अदालतमा जाहेरी दिएका हुन् । तत्कालिन संस्थाका लेखा समितिका संयोजक रामहरि अधिकारी र तत्कालिन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहालले उक्त सहकारीमा सर्वसाधरणहरुले बचत गरेको करोडौं रकम ठगी गरेको भन्दै हिजो (विहीबार) जिल्ला अदालत काठमाडौं मुद्दा परेको छ । हाल संस्थाको सञ्चालक समिति सदस्यको भूमिकामा रहेका अधिकारी र उक्त समितिकै सचिव दाहालको मिलेमतोमा १२६ जना बचतकर्ताको बचत र सेयर रकम गरि ४ करोड ८६ लाख ६ हजार रकम हिनामिना भएको छ ।
उक्त संस्थाका निवर्तमान अध्यक्ष भरतमणी जंगमको कार्यकालमा लेखा समितिको संयोजक अधिकारी र सचिव तथा व्यवस्थापक दाहाल थिए । सोही क्रममा संस्थाका कारोबार (निक्षेप संकलन र श्रृण लगानी) गोलमाल गरिएको स्पष्ट देखिएको छ । उक्त संस्था र हाम्रो नयाँ कृषि सहकारी संस्थासँग मर्जर गरियो । यही क्रममा आरोपीहरुले संस्थाको हिसाब किताबको विवरणमा कम्प्युटर सफट्वयर सिस्टम डाटा समेत अनाधिकृत रुपमा प्रयोग गरेको खुलेको छ ।
“दाहाल र अधिकारीले मानोमानीमा आफु खुसी ऋण प्रवाह गरी हिनामिना गरेका रहेछन् । साई स्वागत सहकारी संस्थाको कार्यालय का.जि.का.म.न.पा.वडा नं. ३ महाराजगञ्जबाट संस्थाको कागजातपत्र र कम्प्युटर प्रणाली समेत अनेत्र लगी हिसाब किताब गोलमाल परेका रहेछन् ।” जाहेरीमा भनिएको छ, “निवर्तमान अध्यक्ष भरतमणी जंगमको हस्ताक्षर चल्ने बैंक खाताबाट कारोवार नगरि आफू खुसी विपक्षीहरुको मात्र हस्ताक्षर चल्ने एन. एम. वि. बैक प्रयोग गरी खाता सञ्चालन गरी कारोबार गरेका रहेछन् । त्यस्तै विपक्षीहरुले मिलेमतोमा तत्कालिन अध्यक्ष हस्ताक्षर समेत किर्ते गरी मिति २०७७÷४÷२७ मा श्री राधा स्वामी बचत तथा ऋण सहकारी संस्थासंग अन्तर सहकारी ऋण भनि लाखौं रकम लिएका रहेछन् । सो सम्बन्धमा सम्मानित काठमाडौं जिल्ला अदालतमा किर्ते जालसाँछीको मुद्धा विचाराधिन रहेकोले यहाँ दावी गरिएको छैन ।”
सम्पर्कविहीन भएका दाहाल यसअघि आफू भारतमा उपचाररत रहेको र मृत्यु समेत हुन सक्ने भन्दै अर्का आरोपीत रामहरि अधिकारीलाई सम्बोधन गरेर पत्र लेखेका थिए ।
यी दुबैको मिलेमतोमा सहकारीको रकम ठगी गरी निजहरु फरार छन् ।
साथै उनीहरुमाथि सहकारी ऐन २०७४ अन्तरगतको कसूर भएकाले विपक्षीलाई सोही ऐन बमोजिम कारवाही गरी विगो, हजार्न र जरिवाना समेत तिराई भराईको माग गरिएको छ ।
“अभियुक्तमाथि केन्द्रिय अनुसन्धान व्यूरो, काठमाडौंबाट अनुसन्धान कार्य सम्पन्न भएर उक्त सहकारीको तमसुकहरुको प्रतिलिपी, सहकारीको कारोबारको स्टेट्मेन्ट, आरोपित अधिकारीको बयान, बिभिन्न बैक तथा वित्तिय संस्थाका बैक स्टेटमेण्ट कागजातहरु, निशा थापा, प्रशान्त के.सी., भरत मणी जंगम, केदार मणी पौडेल, जुनु माया तामाङको घटना विवरण कागज अनुसार अधिकारीसहित दाहाललाई ऋण लगानी गरेको भनी कागजातहरु तयार गरी सहकारीको बचत रकम हिनामिना तथा अनियमितता गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसूर गरेको वारदात स्थापित हुन आयो ।” अभियोगपत्रमा उल्लेख छ ।
हाल कल्याण उपचार सेभिङ्ग एण्ड क्रेडिटको सहकारीको सीईओ रहेका उनी पक्राउ परेको खबर हालसम्म कल्याण उपकारबाट पीडितहरुले थाह पाएका छैनन् । उक्त सहकारीमा पनि अर्बौं रुपैयाँ बचत हिनामिना गरिएको छ ।