इलाम । शनिबार बिहान देखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण इलाममा हालसम्म कम्तीमा २७ जनाको ज्यान गएको छ।
इलामका सबै पालिकाहरूमा बाढि पहिरोको प्रभाव परेको छ इलाम जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी एकनारायण कोइरालाले १४ जनाको मृत्यु पुष्टि भएको र यो सङ्ख्या बढ्ने जानकारी दिए ।
सूर्योदय नगरपालिका १, मानेभज्याङमा पहिरोले पुरिएर एकै घरका आमाछोरीसहित पाँच जनाको मृत्यु भएको छ। इलाम नगरपालिका ६, घोसमा एकै घरमा ६ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ।
माङ्सेबुङ गाउँपालिकामा १ मा ३ जनाको घरले पुरेर मृत्यु भएको छ। कैयौँ बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्ने सम्भावना रहेको प्रहरीको भनाई छ ।
अहिले बेपत्ताको खोजी घाइतेको उद्धारको कार्य जारी छ । माङ्सेबुङ गाउँपालिकामा १ गर्भवती महिला र १ पुरुष गम्भीर घाइते भएकाले नेपाली सेनाको हेलिकप्टरबाट भरखरै उद्धार गरि अस्पताल लगिएको छ ।
सन्दकपुर गाउँपालिका १, छाँगेमा एक जनाको मृत्यु भएको र एक महिला गभिंंर घाइते भएका छन् ।
माइजोगमाई गाउँपालिका ६, प्याङमा एकैघरका पाँच जना बेपत्ता रहेकामा चार जनाको शव फेला परेको छ भने सन्दकपुर गाउँपालिका ३, सुलुबुङकी बालिका घरसँगै बेपत्ता भएकी छिन्।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरो हटाई बेपत्ताको खाजी भइरहेको छ ।