काठमाडौँ । दलित परिवारको घर भत्काएको आरोपमा सिरहास्थित कल्याणपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पक्राउ परेकका छन् । सोही स्थाका पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका हुन् ।
दलित परिवारको घर भत्काउन संलग्न भएको आरोपमा वडाध्यक्ष यादवसहित १३ जना बिरुद्ध जाहेरी दर्ता भएको सिराहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।
स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी परेको एसपी शर्माले बताए ।
जाहेरी परेसँगै वडाध्यक्ष यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरिएको र अन्यको खोजी भइरहेको एसपी शर्माले बताए ।
स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानसहित पाँच घर दलित परिवारको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको थियो ।
पीडितका अनुसार राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह, नितेश सिंह लगयत २०/२५ जनाको समूहले घर तोडफोड तथा लुटपाट गरेका थिए । मिर्चैया र सशस्त्र प्रहरीको थप टोली आएपछि उनीहरू भागेका थिए ।
असोज १ गते विश्वकर्मा पूजामा अरङ बजारमा दलित समुदायसँग प्रभाससहितले विवाद गरेको भन्दै दलित परिवारले त्यस घटना विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उनीहरुले उजुरी दिने ब्यक्तिहरुको घर तोडफोड गरेको स्थानीयले बताए ।
अरङ पोखरीको तीनतिर डिलमा दलितसहित विभिन्न समुदायको बास रहेको छ । सुकुम्बासी दलितहरुको घर भत्काएर अन्नपात लुटेपछि पाँच दलित परिवार विस्थापित भएका छन् ।