प्रतिकुल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित, श्री एयरको विमान पुनः विराटनगर अवतरण

दियोपोस्ट संवाददाता  

विराटनगर । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडानहरू प्रभावित भएका छन्। बुधबार रातीदेखि परेको वर्षाका कारण भिजिबिलिटीमा समस्या आएपछि उडान प्रभावित भएका हुन् ।

बिराटनगरबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान प्रतिकुल मौसमका कारण पुनः विराटनगर फर्किएको छ। बिहानैदेखि परेको वर्षा र कम भिजिबिलिटीका कारण काठमाडौँमा बिमान अवतरण गर्न नसकी पूनः बिराटनगर फर्काइएको थियो ।

श्री एयरको फ्लाइट नम्बर ७३२ ले काठमाडौँमा अवतरण गर्न नसकी करिब १ घण्टा ३८ मिनेटपछि पुनः विराटनगर एयरपोर्टमा अवतरण गरेको थियो । सामान्यतया यो उडानमा २५ देखि ३० मिनेट समय लाग्ने गर्दछ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण केही आन्तरिक उडानहरू ‘डाइभर्ट’ गरिएका छन् भने भरतपुर र तुम्लिङटार विमानस्थलमा उडानहरू पूर्ण रूपमा बन्द गरिएको छ।

पोखरा विमानस्थलमा ‘आगमन’ सेवा बन्द रहेको र ‘डिपार्चर’ मात्र सञ्चालनमा रहेको जानकारी दिइएको छ। भैरहवाबाट काठमाडौंका लागि उडेको विमान पनि पुनः भैरहवा फर्किएको छ।

अन्तर्राष्ट्रिय तर्फ पनि प्रभाव परेको छ। नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ भने इण्डिगो एयरको उडान नयाँदिल्ली र एयर इण्डियाको उडान लखनऊ मोडिएको प्रवक्ता शेर्पाले बताए।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्यता करिब दुई हजार पाँच सय मिटर रहेको र इन–रुट मौसम खराबीका कारण आन्तरिक उडानहरूमा अवरोध भएको विमानस्थल कार्यालयले जनाएको छ।

prabhu bank Add

ट्रेन्डिङ