भाषण गर्दागर्दै ढलेका ‘जिफन्ट’ उपाध्यक्ष कमल गौतमको निधन

दियोपोस्ट संवाददाता  

बुटवल । ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। उद्योगहरूमा गरिएको विद्युत् आपूर्तिको अवरोधका विरुद्ध बुटबलमा आयोजित विरोध सभामा बोल्ने क्रममा ढलेका नेपालको निधन भएको हो ।

उनलाई तत्कालै तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ उद्योगको विद्युत् लाइन काटेपछि सुरु भएको आन्दोलनका क्रममा सहभागी रहेका गौतम बिहीबार दिउँसो सम्बोधनकै बीचमा अचानक बेहोस भई ढलेका थिए।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले गौतमको निधनको पुष्टि गर्दै गहिरो शोक व्यक्त गरेका छन् । उनका अनुसार, गौतमले आफ्नो अन्तिम सम्बोधनमा सरकारले उद्योगहरूलाई अन्यायपूर्वक दबाबमा पारेको भन्दै श्रमिकहरूलाई एकजुट भई संघर्षमा उत्रिन आग्रह गरिरहेका थिए।

बुटवल उपमहानगरपालिका–३, लक्ष्मीनगर निवासी गौतम लामो समयदेखि जिफन्टको नेतृत्वमा क्रियाशील थिए। हाल उनको पार्थिव शरीर क्रिमसन अस्पतालमा राखिएको छ भने उद्योगी, व्यवसायी र श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा शोक व्यक्त गर्न पुगेका छन्।

prabhu bank Add

ट्रेन्डिङ