पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पद धरापमा !

Diyo post  

काठमाडौं, १७ पुस । पर्यटन मन्त्री रविन्द्र अधिकारीको पद धरापमा परेको छ ।


संसदको सार्वजनिक लेखा समितिले वाईडबडी खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै मन्त्री अधिकारी सहित पूर्व पर्यटन मन्त्रीलाई समेत कारबाही गर्नुपर्ने सिफारिस गरेको हो ।


संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले मन्त्री अधिकारी सहित पूर्व मन्त्रीहरु दिनानाथ गिरि, जितेन्द्र देव र जीवन बहादुर शाहीलाई तत्काल कारबाही गर्न सिफारिस गरेको छ ।
स्रोतका अनुसार मन्त्री अधिकारीको कार्यकालमा शंकास्पद गतिविधि भएको र यसअघिका मन्त्रीहरुले पनि अनियमितता गरेको पाइएकाले कारबाही सिफारिस भएको हो ।


५७ पृष्ठ लामो प्रतिवेदनमा मन्त्री अधिकारीको फेहरिस्त नै तयार भएको समेत स्रोतको दाबी छ ।
हालसम्मको प्रतिवेदन अनुसार नेपाल एयरलाईन्सको वाइडबडी खरिद प्रकरणमा ३ अर्ब ७७ करोड घोटाला भएको छ ।


स्रोतका अनुसार प्रतिवेदनमा नेपाल एयरलाईन्सका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गर्न सिफारिस गरिएको छ । संसदको सार्वजनिक लेखा समितिमा ‘झूट’ बोलेका पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई पनि तत्काल पदबाट हटाउनु पर्ने र यो प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ ।


विमान खरिद प्रकरणमा फ्रान्स घुम्न जाने ६८ जनाको जम्बो टोलीलाई पनि कारबाही गर्नुपर्ने माग प्रतिवेदनको छ ।


पर्यटन मन्त्री रविन्द्र अधिकारीले महालेखा परिक्षक टंकमणी शर्माकै रायका आधारमा आफूले किस्ता तिर्न अनुमति दिएको बताएका थिए । तर, शर्माले आफूले कुनै राय नदिएको बताएपछि मन्त्री अधिकारीको बद्मासी बाहिर आएको थियो ।


वाईडबडी घोटालामा चौतर्फी विवाद भएपछि मन्त्री अधिकारी पद जोगाउनका लागि विभिन्न शक्ति केन्द्रको घरमा धाउँदै आएका छन् ।

सम्बन्धित खबर