प्रतिनिधि सभाका सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने

दियोपोस्ट संवाददाता  

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा रिक्त रहेको सभामुख चयनका लागि यही चैत २२ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभा गठन भएसँगै सभामुख चयन प्रक्रिया अघि बढाइएको हो।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि संसद् गठन प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको छ। संविधानअनुसार प्रतिनिधि सभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने व्यवस्था छ।

यसै व्यवस्थाअनुसार पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्ने र त्यसकै आधारमा चैत २२ गते निर्वाचन गर्ने तयारी गरिएको हो। हाल सभामुख पद रिक्त रहेकाले प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्यले सञ्चालन गरिरहेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट चैत १९ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान भइसकेको छ भने पहिलो बैठकपछि सभामुख चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।