जापानमा पनि ‘एसईई’ परीक्षा केन्द्र स्थापना, २३ विद्यार्थी सहभागी हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । भोलिदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जापानबाट समेत विद्यार्थीहरू सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार जापानमा स्थापना गरिएको परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिने तयारी गरिएको छ ।

बोर्डले दिएको जानकारीअनुसार विदेशमा रहेका नेपाली विद्यार्थीलाई लक्षित गर्दै जापानमा परीक्षा केन्द्र सञ्चालन गरिएको हो। यसले अध्ययन वा अभिभावकको रोजगारीका कारण विदेशमा बसोबास गरिरहेका विद्यार्थीलाई नेपाल फर्किनु नपरी परीक्षा दिन सहज हुने विश्वास गरिएको छ।

एसईई परीक्षा यसअघि केवल नेपालभित्रै सञ्चालन हुँदै आएको भए पनि पछिल्ला वर्षहरूमा विदेशमा रहेका नेपाली विद्यार्थीको संख्या बढ्दै गएपछि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ। जापानमा रहेका नेपाली समुदाय र शैक्षिक संस्थाहरूको सहकार्यमा परीक्षा केन्द्रको व्यवस्थापन गरिएको जनाएको छ । पछिल्लो वर्ष पनि २९ जना विद्यार्थी एसईई परिक्षामा जापानको केन्द्रबाट सहभागी रहेका थिए ।

यस वर्षको एसईई परीक्षामा देशभर तथा विदेश गरी ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी सहभागी हुँदैछन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको बताए । देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुन लागेको उप-नियन्त्रक ज्ञवालीले जानकारी दिए ।

परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड ले जनाएको छ।

विदेशमा परीक्षा केन्द्र विस्तार गर्ने योजना आगामी वर्षहरूमा अन्य देशहरूमा पनि लागू गरिने सम्भावना रहेको बोर्डका अधिकारीहरूले बताएका छन्।

सिफारिस