काठमाडौं । नेकपा (एमाले)ले रामबहादुर थापा (बादल)लाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। बुधबार च्यासलमा बसेको पार्टी पदाधिकारी तथा संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
अध्यक्ष केपी शर्मा ओली हाल हिरासतमा रहेकाले उनको अनुपस्थितिमा थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो। सांसद ऐन महरका अनुसार ओली हिरासतबाट मुक्त नभएसम्म थापाले कार्यवाहक अध्यक्षको रूपमा पार्टीको नेतृत्व सम्हाल्नेछन्।
यससँगै थापा एमाले संसदीय दलको नेतामा पनि चयन भएका छन्, जसले पार्टीभित्र उनको भूमिकालाई थप सुदृढ बनाएको छ। एमालेभित्र पछिल्लो राजनीतिक परिस्थितिका कारण नेतृत्व व्यवस्थापन आवश्यक देखिएको अवस्थामा थापालाई जिम्मेवारी दिइएको नेताहरूले बताएका छन्।
रामबहादुर थापा ‘बादल’ लामो समयदेखि नेपाली कम्युनिष्ट राजनीतिमा सक्रिय नेता हुन्। पूर्वमाओवादी पृष्ठभूमिबाट आएका उनी पछिल्ला वर्षहरूमा एमाले नेतृत्वसँग नजिक रहँदै आएका छन्।