नेपाली पर्यटनमा ‘एङ्लिङ’को उदयः सेती-कर्णालीमा अन्तर्राष्ट्रिय प्रतियोगिताले बढायो आकर्षण

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ-माछा समात्ने खेल अर्थात् ‘एङ्लिङ’। तर यो खेल परम्परागत माछा मार्ने जस्तो होइन, यहाँ माछा समातिन्छ, तस्बिर खिचिन्छ र पुनः नदीमै छाडिन्छ। यही अभ्यासले प्रकृति संरक्षणसँगै साहसिक पर्यटनलाई पनि जोड दिएको छ।

मार्च २२ देखि अप्रिल २ सम्म सेती र कर्णाली नदीमा आयोजित ‘सेती-कर्णाली इन्टरनेसनल महासेर एङ्लिङ च्यालेन्ज’ले नेपालमा एङ्लिङ पर्यटनको सम्भावना उजागर गरेको छ। पहिलोपटक आयोजित यस प्रतियोगितामा विभिन्न देशका २३ विदेशी खेलाडी सहभागी भएका थिए।

डोटीको दिपायलस्थित सेती नदीदेखि कैलालीको ठुलीगाडस्थित कर्णाली नदीसम्म सञ्चालन गरिएको प्रतिस्पर्धामा सबैभन्दा ठुलो र धेरै माछा समात्ने खेलाडीलाई तीन विधामा पुरस्कृत गरिएको थियो। प्रतियोगितामा ‘गोल्डेन महासेर (सहर)’ र ‘गोंज (ठेंड)’ जातका माछा समातिएका थिए।

सबैभन्दा ठुलो सहर माछा नेदरल्यान्डका मिसेल डेकरले समाते, जसको लम्बाइ ११७ सेन्टिमिटर थियो। दोस्रो स्थानमा उनका छोरा नोहा (११४ से.मी.) र तेस्रोमा थाइल्यान्डका टप मेसोवान्ता (१०८ से.मी.)रहे।

त्यसैगरी ठेंड विधामा भारतका डेरेक डेसोजाले १०८ सेन्टिमिटर लामो माछा समात्दै पहिलो स्थान हासिल गरे। मलेसियाका क्रिस्टोफर टान (१०२ से.मी.) दोस्रो र नेदरल्यान्डका जान क्रिस्टोफेल (१०१ से.मी.) तेस्रो स्थानमा रहे।

धेरै सहर माछा समात्ने विधामा बेलायतका जोन विलियम टिल्बर्क विजेता बने। उनले ६ वटा माछा समातेका थिए। थाइल्यान्डका टप मिसुवान्ता (४ वटा) दोस्रो र बेलायतकै रोजर जेम्स टिल्बर (३ वटा) तेस्रो स्थानमा रहे।

तीनै विधाका विजेतालाई ५० हजार रुपैयाँ नगदसहित करिब ४,८०० डलर बराबरको १५ दिने फिसिङ प्याकेज प्रदान गरिएको थियो। दोस्रो र तेस्रो हुनेलाई क्रमशः २ हजार ४०० र १ हजार २०० डलर बराबरको फिसिङ प्याकेज तथा प्रमाणपत्र दिइएको थियो।

प्रतियोगितामा बेलायत, नेदरल्यान्ड, भारत, मलेसिया, जापान, फिनल्यान्ड, थाइल्यान्ड र नेपालका सहभागी थिए। विजेताहरूलाई बर्दियामा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो।

डोटीको बोगटान फुडसिल गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रमलाई सुदूरपश्चिम प्रदेश सरकार, नेपाल पर्यटन बोर्डलगायत विभिन्न संस्थाले सहयोग गरेका थिए।

यस प्रतियोगिताले नेपालका नदीहरूमा साहसिक तथा दिगो पर्यटन विकासको नयाँ आयाम थप्ने विश्वास गरिएको छ।