
खुम्बु । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा आधारशिविरमा हालै राखेको विवादित साइनबोर्ड हटाएको छ । गाउँपालिकाले बरफ पग्लिएर लडेको साइनबोर्ड केहि समयका लागि हटाएको हो ।
उक्त साइनबोर्ड विवादका कारण भने नहटाइएको गाउँपालिकाका अध्यक्ष मिङ्गा छिरि शेर्पाले बताए । ‘आधार शिविरमा राखिएको साइनबोर्ड केहि दिनअघि बरफ पग्लिएर लडेको थियो’ दियो पोष्टसँग उनले भने, ‘त्यसलाई अर्कोपटक बलियो तरिकाले गाड्ने गरी अहिलेलाई हटाएका हौ । विवाद आएर सधैको लागि हटाइएको होइन । अर्कोपटक चाहि सुचनामुलक र थप सांकेतिक हुने गरी परिमार्जन गरेर अहिलेकोजस्तै बोर्ड राख्छौ ।’
गाउँपालिकाले गत मार्च महिनामा पहिलो सगरमाथा आरोहि एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको तस्बिरसहितको बोर्ड सगरमाथा आधारशिविरमा गाडेको थियो । उक्त बोर्डले स्थानिय, पर्यटक र पर्वतारोहिको ध्यान तानेको थियो भने उनीहरुले सामाजिक सञ्जालमार्फत गाउँपालिकाको उक्त कदमविरुद्ध चर्को आलोचना गरेका थिए ।
सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिको सम्मान स्वरुप बोर्डमा तस्बिर राखिएकोले विवाद गर्नु उचित नभएको गाउपालिकाका अध्यक्ष शेर्पाले बताए । ‘वस्तुस्थिती नबुझी आलोचना गरेर मात्र हुदैन । सुरुमा सगरमाथा आरोहण गर्ने व्यक्ति उहाँहरु नै हो । सगरमाथाको बाटो खुलाउने व्यक्ति उहाँहरु नै हो’ उनले भने, ‘उहाँहरुप्रतिको सम्मानस्वरुप राखिएको तस्बिर सांकेतिक छ । आरोहण जाने जोकोहिले पनि उहाँहरुप्रति सम्मान र स्मरण गरोस भनेर राखिएको हो । त्यसमा विवाद गर्नुको कुनै औचित्य छैन ।’