काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा महिला व्यवसायीहरूको उपस्थिति र नेतृत्वलाई सुदृढ गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यका साथ तीनदिने ‘क्षमता तथा व्यवसाय प्रवर्द्धन’ तालिम सम्पन्न भएको छ। महिला पर्यटन व्यवसायी सञ्जालले जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गरेको थियो ।
नेपाल पर्यटन वोर्डको सहयोगमा संचालन गरिएको उक्त तालिममा देशका विभिन्न भागबाट ४७ जना महिला पर्यटन व्यवसायीहरू सहभागी थिए।
तालिमको समापन गर्दै महिला पर्यटन सञ्जालका अध्यक्ष निर्माला धमलाले तालिम सभ्य र भब्य रुपले सम्पन्न भएको बताइन् । सो अवसरमा अध्यक्ष धमलाले तालिम सम्पन्न गर्न महत्वपूर्ण भुमिका खेल्ने नेपाल पर्यटन वोर्ड तथा अन्य पर्यटन ब्यवशायीलाई धन्यवाद समेत दिइन् ।
अध्यक्ष धमलाले भनिन्, “हामीले सुरु गरेको यो प्रयास महिला पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि मात्र होइन, उनीहरूको व्यवसायिक सञ्जाल विस्तारका लागि पनि महत्वपूर्ण हुने विश्वास लिएका छौं। आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू आयोजना गर्दै जाने छौं।”
समापन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले पर्यटनमा महिला ब्यवशायीको सहभागिता बढेको भन्दै खुसी ब्यक्त गरिन् । उनले भनिन्, ‘पर्यटन क्षेत्रमा महिला व्यवसायीहरूको सक्रियता बढ्दै जानु सकारात्मक संकेत हो। यस्ता तालिमहरूले उनीहरूलाई आत्मनिर्भर बनाउन थप मद्दत पुर्याउनेछ।’
तीनदिने तालिममा कम्पनी व्यवस्थापन, नेतृत्व विकास, व्यवसायिक रणनीति, ग्राहक सेवा तथा डिजिटल प्रविधिको प्रयोग लगायतका विषयमा विज्ञ प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए। सहभागीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमले पर्यटन क्षेत्रभित्र महिला व्यवसायीहरूको भूमिकालाई अझ सबल बनाउने अपेक्षा गरिएको छ।




