सामाजिक सद्भाव कायम राख्न सबैसँग संयमता अपनाउन सशस्त्र प्रहरीको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौं । सशस्त्र प्रहरी बलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेको छ।

पछिल्ला दिनमा देशका केही स्थानमा देखिएको असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै  प्रहरीले बलले सबै नागरिकसँग संयमता अपनाउन आग्रह गरेको हो ।

शुक्रबार जारी विज्ञप्तिमा सशस्त्र प्रहरीले नेपाली समाजको मौलिक पहिचान आपसी सद्भाव, सहिष्णुता र सहकार्य भएको उल्लेख गर्दै कुनै पनि प्रकारका हिंसा, तोडफोड, आगजनी तथा उक्साहटपूर्ण गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

यस्ता गतिविधिले सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र एकतालाई कमजोर बनाउने भएकाले कानुनी प्रक्रिया र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको पनि उल्लेख गरिएको छ ।

सशस्त्र प्रहरीले घटनासम्बन्धी निष्पक्ष कानुनी प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै अहिले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गर्ने समय भएको जनाएको छ । कुनै धर्म, समुदाय वा समूहप्रति घृणा, द्वेष वा उत्तेजना फैलाउने अभिव्यक्ति र प्रचार–प्रसार नगर्न पनि सबैमा अपिल गरिएको छ।

साथै, शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सशस्त्र प्रहरी बल आफ्नो जिम्मेवारीअनुसार परिचालित रहेको जनाउँदै सम्पूर्ण नागरिकलाई अफवाहको पछि नलाग्न, सामाजिक सद्भाव कायम राख्न र कानुनको पालना गर्न आग्रह गरेको छ।