तराई-मधेसको सुरक्षा व्यवस्थापनमा १५ उच्च प्रहरी अधिकारी फिल्डमा

दियोपोस्ट संवाददाता

काठमाडौं । पछिल्ला दिनमा तराई-मधेसमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपी तहसम्मका १५ जना उच्च प्रहरी अधिकारीलाई विभिन्न जिल्लामा परिचालन गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीबाट उत्पन्न भएको तनाव तथा समग्र सुरक्षा अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ४ जना एआईजी, २ जना डीआईजी र ९ जना एसएसपीलाई तराई-मधेसका विभिन्न जिल्ला तथा प्रदेशमा खटाइएको हो ।

खटाइएका अधिकारीमध्ये एआईजी शिद्धीविक्रम शाह बाँके, हिमालयकुमार श्रेष्ठ मधेस प्रदेश, उमाप्रसाद चतुर्वेदी कपिलवस्तु तथा ईश्वर कार्की कोशी प्रदेश र सुनसरीमा खटिएका छन् । त्यस्तै डीआईजी दिनेशकुमार आचार्य सिरहा र अबिनारायण काफ्ले सप्तरीमा परिचालित भएका छन् ।

यसैगरी एसएसपी गोपालचन्द्र भट्टराई सर्लाही, सोमेन्द्र सिंह राठौर पर्सा, दीप शम्शेर जबरा रौतहट, नवराज अधिकारी चितवन, कृष्णप्रसाद पंगेनी महोत्तरी, होबिन्द्र बोगटी बारा, ज्ञानेन्द्रप्रसाद फुयाँल मोरङ, भुवनेश्वर तिवारी धनुषा तथा अमरेन्द्रबहादुर सिंह मधेस प्रदेशमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।