बाटो सोध्ने बहानामा सिक्री लुट्ने गिरोह पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । बाटो सोध्ने बहानामा महिला तथा वृद्धवृद्धालाई निशाना बनाएर सुनको सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा सिक्री लुटेर भाग्ने क्रममा पक्राउ परेका कर्मा तामाङ नेतृत्वको समूह नै उक्त गिरोह रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार राति उक्त स्थानबाट सिक्री लुटेर भाग्ने क्रममा प्रहरी टोलीले कर्मा तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । घटनापछि गरिएको अनुसन्धानका क्रममा उनी नेतृत्वको संगठित समूह नै लुटपाटमा सक्रिय रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

कर्मा पक्राउ परेपछि प्रहरीले थप पाँच जनालाई पनि नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानले उक्त समूहले उपत्यकाका विभिन्न क्षेत्रमा महिलासँग बाटो सोध्ने बहाना बनाई नजिक पुग्ने र अवसर मिल्नेबित्तिकै सुनको सिक्री लुटेर फरार हुने गरेको देखाएको छ।

प्रहरीका अनुसार समूहले विशेषगरी एकान्त स्थानमा हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई लक्ष्य बनाउँदै लुटपाट गर्ने गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।