
काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-३१ बस्दै आएका २६ वर्षीय रिजवान शेष रहेका छन्।
प्रहरीका अनुसार रिजवानले युकेमा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाउँदै एक जना पीडितबाट ७ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन बनेको भन्दै पीडितले उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले मंगलबार काठमाडौं महानगरपालिका-३१ बाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका शेषलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।