एक करोड ठगी गरी फरार भएका कसुरदार सूर्यमान तामाङ पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । एक करोड रुपैयाँ ठगी गरी फरार रहेका सूर्यमान तामाङ पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले बिहीबार धुम्बाराहीबाट पक्राउ गरिएको हो ।

रमेश लामाको जाहेरीका आधारमा चेक बाउन्सको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट तामाङविरुद्धको मुद्दामा कसुर ठहर भई २ वर्षको कैद सजाय तोकिएको थियो । तर सुरुमा तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका तामाङ पछि तारेख नै गुजारी फरार भएका थिए । त्यसपछि अदालतबाट भएको फैसलामा तामाङलाई कुल २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । साथै तारेख गुजारेको कारण अदालतमा राखेको धरौटी समेत जफत भएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले २०८२ मङ्सिर १७ गते कसुर ठहर गरेको भए पनि फरार रहेका उनलाई बिहीबार मात्रै प्रहरीले पक्राउ गरेको थियो ।

काभ्रेपलान्चोकको साबिक खनालथोक गाविस -९ तथा हालको परिवर्तित नमोबुद्ध नगरपालिका -६ स्थायी ठेगाना भएका तामाङ अहिले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका -६ हात्तीगौंडामा बस्दै आएका थिए ।

तामाङले जाहेरवाला रमेश लामालाई मोरङ जिल्लाको जग्गा किन्न रकम आवश्यक परेको भन्दै एक करोड रुपैयाँ माग गरी ठगी गरेका थिए । तामाङले लामासँग जग्गाको कारोबारका लागि भन्दै १ करोड रुपैयाँ लिएको भए पनि जग्गा वा रकम फिर्ता नगरेको आरोप छ । बरु जग्गा वा रकमको स्थानमा उनले २० लाख र ८० लाख रुपैयाँको फरक फरक दुई चेकहरू काटिदिएका थिए । तर आफैले काटेको चेकको भुक्तानी गर्नुपर्छ भनेर तामाङले चेक काटिएको नेपाल एसबिआई बैंकमा गएर गएर ‘हराएको’ भन्दै रोक्का अर्थात् स्टप पेमेन्ट समेत गराएका थिए ।

यता तामाङले भने आफ्नो बयानका क्रममा आफूले लामासँग २० लाख रुपैयाँ मात्रै लिएको तर थप ८० लाख रुपैयाँको चेक जबरजस्ती काट्न लगाएको भन्दै ललितपुर जिल्ला अदालतमा करकापको मुद्दासमेत दायर गरेका थिए । तर ललितपुर जिल्ला अदालतले सो मुद्दामा उनको दाबी पुग्न नसक्ने ठहर गरेको थियो ।

तामाङविरुद्धको मुद्दामा कसुर ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले भनेको छ,

“प्रतिवादीले जाहेरवालासँगको कारोबारमा निजलाई आफ्नो बैंक खाताबाट रकम भुक्तानी लिनु भनी विश्वास पारी २ थान चेकबाट रु. १ करोड लिनु भनी चेक दिएकोमा उक्त चेकहरूबाट जाहेरवालाले भुक्तानी पाउने मिति भन्दा अगावै विना कारण चेक हराएको भनी झुट्टा ब्यहोरा उल्लेख गरी बैंकमा निवेदन दिई चेक रोक्का गरेको देखिएकोले प्रतिवादीले जाहेरवालालाई ठगी गरेको ठहर्छ ।’

कसुर ठहर भई सूर्यमान तामाङविरुद्ध सजाय निर्धारण हुँदा २ वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना र अपराध पीडित संरक्षण कोषमा ४०० रुपैयाँ जम्मा गर्न भनेको थियो ।

तामाङ अनुसन्धानकै क्रममा २० दिन प्रहरी हिरासतमा समेत बसेको कारण सो अवधि कैदबाट कट्टा गरी बाँकी १ वर्ष ११ महिना १० दिन कैद सजाय भोग्नु पर्ने अदालतको फैसलामा उल्लेख छ ।

पक्राउ परेका तामाङविरुद्ध प्रहरी वृत्त बानेश्वरमा समेत २ लाख ५० हजार बराबरको बैंकिङ कसुरको जाहेरी परेकामा उनी फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस