
काठमाडौं । वीरगन्जमा भारतबाट आएको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा पेट्रोल चोरी गरी बिक्री-वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका-१४ स्थित बाइपास सडकखण्डमा रहेको सौदागर आयल सेन्टरबाट आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको ट्याङ्करसहित सात जनालाई बिहीबार साँझ पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उक्त ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-३ मालपोत चोकका ५५ वर्षीय सुनैन मियाँ (सौदागर आयल सेन्टरका सञ्चालक), वीरगन्ज-१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी (लेखा कर्मचारी), वीरगन्ज-११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ (क्यासियर) रहेका छन् ।
त्यसैगरी मकवानपुर हेटौडा उपमहानगरपालिका-११ का २० वर्षीय सन्देश राना मगर (ना.७ ख २८०४ नम्बरको ट्याङ्करका सहचालक), हेटौडा-१० का ४६ वर्षीय केशरराम सुनार (उक्त ट्याङ्करका चालक), हेटौडा-१४ का ५० वर्षीय मन्दसिंह लामा (ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक) र हेटौडा-१४ का २७ वर्षीय उमेश राना मगर (उक्त ट्याङ्करका सहचालक) रहेका छन् ।
प्रहरीले घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिएर ट्याङ्करसहित आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।