किन जंगलको बाटो एक्लै गएका थिए, कपिलवस्तुका पूर्व मेयर सिंह ?

मदन ढुङ्गाना

कपिलवस्तु । कपिलवस्तुको तिलौराकोट सामुदायिक जंगलमा आइतबार अपराह्न मृत अवस्थामा भेटिएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको मृत्युका सम्बन्धमा शंका गरिने प्रशस्त ठाउँ रहेको भन्दै प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको छ । कपिलवस्तु प्रहरीले सिंहको मृत्यु स्वाभाविक नै छ कि अन्य केही पनि हुनसक्छ भन्दै सूक्ष्म अनुसन्धान सुरु गरेको हो ।

शुक्रबार अपराह्न १ बजे आफ्नो घरबाट निस्किएका पूर्व मेयर सिंह किन जंगलको बाटो गएका थिए, फोनमा आफू हराएको भन्दै किन विभिन्न व्यक्तिलाई फोन गरेका थिए लगायतका विषयमा सूक्ष्म अनुसन्धान गर्न लागिएको हो ।

शुक्रबार अपराह्नदेखि साँझ साँढे ५ बजेसम्म के के भयो ? यस्तो छ टाइमलाइन :

कपिलवस्तु नगरपालिकाका पूर्व मेयर करण सिंह नेपाली काँग्रेसका स्थानीय स्तरमा चर्चित नेतासमेत हुन् । ६५ वर्षका पूर्व मेयर सिंह आफै लु१प ७८७९ नम्बरको एभेन्जर मोटरसाइकल चलाएर विभिन्न स्थानहरूमा पुग्ने गर्दथे । पछिल्लो समय सिंहले उनको शव भेटिएको तिलौराकोट सामुदायिक जंगल नजिकै बुद्धभूमि नगरपालिकामा पर्ने ढेकारी भन्ने स्थानमा रिसोर्ट सञ्चालनका लागि काम गरिरहेका थिए । अर्का एक पार्टनरसँग मिलेर पूर्व मेयर सिंहले रिसोर्ट खोल्न लागेको स्थान उनी मृत अवस्थामा भेटिएको स्थानबाट नजिकै हो ।

मिति : २०८३ साउन २२ गते शुक्रबार
समय : अपराह्न १ बजे
स्थान : आफ्नै निवास

शुक्रबार अपराह्न करिब १ बजे सिंह आफ्नो घरबाट लु१प ७८७९ नम्बरको एभेन्जर मोटरसाइकल लिएर रिसोर्ट बनाउने भनेको स्थानतर्फ अगाडि बढ्छन् । ढेकारी भन्ने स्थानमा जंगल नजिकै बनाउन लागिएको रिसोर्टमा उनी यसअघि धेरै पटक पुगिसकेका थिए । सामान्य अवस्थामा उनले जुन रुट प्रयोग गर्थे, शुक्रबार उनी त्यही रुटबाट गएनन् । बरु नियमित जाने बाटो छाडेर जंगलतर्फको बाटो लागे ।

मिति : २०८३ साउन २२ गते शुक्रबार
समय : अपराह्न १:४९ बजे
स्थान : तिलौराकोट सामुदायिक बन नजिकैको जंगल क्षेत्र

घरबाट अपराह्न करिब १ बजे निस्किएका सिंहलाई अपराह्न १:४९ मा उनलाई तिलौराकोट नजिकैको जंगल क्षेत्रको सडकमा देखियो । सिंह आफ्नो मोटरसाइकल चलाएर एक्लै जंगलको बाटोतर्फ गइरहेका देखिन्छन् । दियोपोस्टलाई प्राप्त करिब १० सेकेन्डको भिडियोमा उनी एक्लै मोटरसाइकलमा जंगलतर्फ गइरहेका छन् ।

मिति : २०८३ साउन २२ गते शुक्रबार
समय : अपराह्न ३:१५ बजे
घटना : फोन कल

पूर्व मेयर सिंहले शुक्रबार अपराह्न ३ बजेर १५ मिनेटको समयमा सुनिल बिक नाम गरेका व्यक्तिलाई फोन गर्छन् । फोनमा उनले आफू रिसोर्ट जान लागेको तर बाटो बिराएर जंगलमा पुगेको भन्दे उद्धार गरिदिन आग्रह गर्छन् ।
सुनिलले अन्य ४ जना व्यक्तिलाई पनि सम्पर्क गरी यही कुरा गर्छन् र खोजीका लागि उनीहरू पनि जान्छन् ।

मिति : २०८३ साउन २२ गते शुक्रबार
समय : अपराह्न ३:१५ बजे
घटना : फोन कल

तिलौराकोट नजिकैको जंगल क्षेत्रमा मोटरसाइकलमा गएको करिब डेढ घण्टापछि पूर्व मेयर सिंहले सुनिल बिक नाम गरेका व्यक्तिलाई फोन गरेर आफू रिसोर्ट जान लागेको तर बाटो बिराएर जंगलमा हराएको भन्दै उद्धारका लागि आग्रह गरे । सुनिल बिक पूर्व मेयर सिंहका सहयोगीसमेत थिए । बिकले पनि अन्य व्यक्तिलाई समेत फोन गरेर खोजी सुरु गरेको पाइएको छ ।

मिति : २०८३ साउन २२ गते शुक्रबार
समय : अपराह्न ५:२७ बजे
घटना : अन्तिम फोन कल

आफू जंगलमा बाटो बिराएर हराएको भन्दै पहिलो पटक फोन आएको डेढ घण्टा अर्थात् साँझ ५ बजेर २७ मिनेट जाँदासम्म पूर्व मेयर सिंहले विभिन्न व्यक्तिहरूलाई फोन गरेका छन् । अनुसन्धानका क्रममा करिब ३० जना व्यक्तिहरूलाई पूर्व मेयर सिंहले फोन गरी बाटो बिराएर जंगलमा हराए भनेका छन् । त्यसपछि उनको मोबाइलको स्विच अफ भएको थियो ।

मिति : २०८३ साउन २३ गते शनिवार
समय : दिनभर
स्थान : तिलौराकोट सामुदायिक बन क्षेत्र

शुक्रबारदेखि हराएका सिंहको खोजीमा शनिवार नेपाल प्रहरी, सशस्त्र प्रहरी, आफन्त र स्थानीय व्यक्तिहरुले निकै मिहेनत गरे । तर सिंहलाई फेला पार्न सकेनन् । जंगल नजिकैको खोल्सीमा उनले प्रयोग गर्ने गरेको मोटरसाइकल भने फेला पर्‍यो ।

सुन्निएको अवस्थामा भेटिएको सिंहको शवको तस्बिर । नजिकै फुकालिएको अवस्थामा फेला परेको सिंहले लगाउने हेलमेट ।

मोटरसाइकल फेला परे पनि उनी भने फेला परेका थिएनन् । त्यसपछि आइतबार बिहानैदेखि खोजी सुरु गरेपछि स्थानीयहरूले उनको शव भेटे ।

तिलौराकोट सामुदायिक बनभित्र हेलमेट टाउकोबाट निकालेर भुईँमा राखेको अवस्थामा उनको शव हेलमेट नजिकै फेला परेको हो ।

स्थानीयवासीका अनुसार मेयर सिंहको शव सुन्निएको अवस्थामा फेला परेको छ भने अनुसार नचिनिने अवस्थामा छ । शरीरबाट गन्ध समेत आइसकेको छ ।

घरमा भेटियो मिटरब्याजसँग सम्बन्धित कागजात र चेकहरू

सिंह शुक्रबारदेखि हराएपछि प्रहरीको एक टोली शनिवार सिंहको घरमा समेत पुगेको थियो । सिंहको घरमा पुगेर अनुसन्धान गर्दा उनीसँग थुप्रै चेकबुकहरु फेला परेको थियो । विभिन्न व्यक्तिले उनको नाममा जारी गरेका चेकबुकहरु र केही लेनदेनका लिखत समेत फेला परेको छ ।

मिटर ब्याज लिएको आरोप

कपिलवस्तु नगरपालिकाका पूर्व मेयर करण सिंह सतहमा राजनीतिज्ञ देखिए पनि उनी मिटरबाजीसमेत रहेको आरोप लागेको छ । उनको घरमा फेला परेका लिखतहरूमा सयकडा ५ देखि सयकडा ७ अर्थात् वार्षिक ८४ प्रतिशतसम्मको मिटर ब्याज लिने गरी कागजात तयार भएको भेटिएको एक अधिकृतले दियोपोस्टलाई बताए ।

सिंह जंगलको बाटो एक्लै मोटरसाइलकमा जाँदै गर्दा एक स्थानको सिसीटीभीमा कैद भउको दृश्यको स्कृनसट ।

सिंहको घरमा खानतलासी गर्दा भेटिएका चेक जारी गर्ने व्यक्तिसँग सोधपुछ गर्दा उनीहरूले सयकडा ५ देखि सय कडा ७ रुपैयाँसम्मको ब्याज दिने गरी सिंहसँग ऋण लिइएको प्रारम्भिक जानकारी दिएका थिए ।

जंगलमा किन गए र हराए भन्नेमै सन्देह

कपिलवस्तु नगरपालिकाका पूर्व मेयर सिंह सोही क्षेत्र नजिकैका व्यक्ति हुन् । उनी यसअघि पनि कैयन् पटक सोही क्षेत्रमा पुग्ने र भूगोलबारे जानकारी भएका व्यक्ति हुन् ।

सिंहलाई दमको रोग भए पनि अन्य कुनै जटिल प्रकारको रोग भने थिएन । उनमा सम्झने क्षमता पनि मजबुत नै रहेको थियो । तर आफ्नै क्षेत्रमा उनी किन र कसरी हराए, किन नियमित बाटो नगएर जंगलको बाटो गए, किन म हराएँ भनेर धेरै व्यक्तिहरूलाई फोन गरे लगायतका विषयमा केही आशंका गरिएको प्रहरी स्रोतको दाबी छ ।

तर घटनास्थलको अवस्था, घटनाको प्रकृति आदि हेर्दा उनलाई कसैले कर्तव्य गरी हत्या नै गरेको कुनै चिन्ह भने देखिएको छैन । यद्यपि मिटर ब्याज, लेनदेन आदि विषयमा केन्द्रित रहेर प्रहरीले थप अनुसन्धान गर्ने बताएको छ ।

भिडियाे :