
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखेर देश तथा जनताको सुरक्षा र सेवामा समर्पित भएर काम गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिको जिम्मेवारीमा खटिन लागेका अधिकृतका लागि आयोजित कमाण्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
उनले राष्ट्र र संगठनको प्रतिष्ठाभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै गलत नियतका साथ काम गर्ने जुनसुकै दर्जाका कर्मचारी कारबाहीको भागीदार बन्ने बताए । प्रभाव पारेर कारबाहीबाट उम्किन सकिन्छ भन्ने सोच तत्काल त्याग्नसमेत उनले निर्देशन दिए ।
सरकारको नतिजामुखी शासकीय प्रबन्ध तथा संगठनले प्राथमिकतामा राखेका सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग र विपद् व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउन उनले जोड दिए । कार्यक्षेत्रमा खटिँदा आर्थिक अनियमितताप्रति शून्य सहनशीलताको नीति पूर्ण रूपमा पालना गर्दै त्रुटिरहित ढंगले जिम्मेवारी निर्वाह गर्न उनले निर्देशन दिए ।
महानिरीक्षक पौडेलले फिल्डमा हुने सानो कमजोरी वा लापरबाहीले समेत अपूरणीय क्षति निम्त्याउन सक्ने बताए । अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा चुनौतीको विश्लेषण गर्दै राष्ट्रियस्तरमा भइरहेका विरोध कार्यक्रम, विपद्, सीमा अपराध तथा सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न हुन सक्ने जोखिमप्रति समयमै सजग रहनुपर्ने उनको भनाइ थियो ।
सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार, मानव बेचबिखन, तेस्रो मुलुकका नागरिकको प्रवेश तथा चोरी–तस्करी नियन्त्रणमा विशेष चनाखो भएर काम गर्न निर्देशन दिँदै उनले सीमा सुरक्षामा खटिँदा सम्बन्धित निकाय, सरोकारवाला र सीमापारका समकक्षीसँग आवश्यक समन्वय गर्नुपर्ने बताए ।
सामाजिक सञ्जालको प्रयोग र त्यसको दुरुपयोगप्रति समेत सजग रहन निर्देशन दिँदै पौडेलले मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिचबाट उत्पन्न हुन सक्ने जोखिमलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
असल नियत र इमानदारीपूर्वक गरिएका कामको संगठनले उच्च मूल्यांकन तथा संरक्षण गर्ने बताउँदै उनले कार्यक्षेत्रमा परिचालित कर्मचारीलाई उच्च मनोबलका साथ व्यावसायिक ढंगले जिम्मेवारी निर्वाह गर्न आग्रह समेत गरे ।
तालिम शिक्षालयका समादेशकलाई शिक्षालयलाई ‘उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यका साथ व्यावसायिकता र प्रविधिमा जोड दिन निर्देशन दिँदै उनले व्यावहारिक सीप विकासलाई प्राथमिकतामा राखेर शिक्षालयको स्तरोन्नतितर्फ अग्रसर हुनुपर्ने बताए ।
महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका सबै युनिटमा फायरफाइटिङ टोली तयारी अवस्थामा राख्नसमेत निर्देशन दिए । आगलागीजस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी क्षेत्रमा २४सै घण्टा अपरेशनल तत्परता कायम राख्न उनले युनिट कमान्डरलाई निर्देशन दिए ।
यसअघि विभागीय प्रमुखहरू सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज़ दाहाल, गणेशबहादुर ठाडामगर र अञ्जनीकुमार पोखरेलले कमान्डको जिम्मेवारीमा जान लागेका अधिकृतलाई सीमा सुरक्षा, अपरेसनल तथा प्रशासनिक कामकारबाही त्रुटिरहित ढंगले सञ्चालन गर्न निर्देशन दिएका थिए ।