
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लजेग छोडेर भाग्न खोज्दा १८ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पञ्जाब ठेगाना भएका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन् ।
लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू क्याथे प्यासिफिकको उडानमार्फत थाइल्याण्डको बैंककबाट हङकङ हुँदै नेपाल आएका थिए।
विदेशी यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो । विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रमा पुगेपछि उनीहरूले गाँजा लुकाएर ल्याएको लगेज छाडेर भाग्न खोजेको अवस्थामा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूबाट थप दुई थान पासपोर्ट, दुई थान मोबाइल र चार थान झोला समेत बरामद भएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा थाइल्याण्डबाट गाँजा ल्याउने भारतीय नागरिकहरूले विमानस्थलमा पक्राउबाट बच्न आगमनतर्फको भन्सार क्षेत्रमा लगेज छाड्ने र केही दिनपछि नेपाली एजेन्टमार्फत उक्त लगेज ‘क्लेम’ गरेर लैजाने योजना बनाउने गरेको खुलेको ब्यूरोले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।