
उत्तरी म्याग्दीको विकट भूगोलमा अवस्थित पात्लेखेत गाउँ। जहाँबाट नजर घुमाउँदा धौलागिरि र नीलगिरिका सेताम्मे शृङ्खलाहरू मुस्कुराएको देखिन्थे, तर गाउँले जीवन भने उकाली-ओराली, हिलो-धुलो र अभावको कठोर यथार्थमा जेलिएको थियो। वि.सं. २०४५ साल जेठ १६ गते त्यही हिमाली भूगोलको काखमा जन्मिएका रमेश पराजुलीको बाल्यकाल घाम-पानीसँग जुध्दै र विद्यालय पुग्न दैनिक दुई घण्टाको कठिन पैदल यात्रा गर्दै बित्यो। तर, ती अप्ठ्यारा गोरेटाहरूले उनलाई थकाएनन्; बरु उनको पाइलामा मेहनत, अनुशासन, आत्मविश्वास र अटल नेतृत्व क्षमताको बीउ रोपिदिए। त्यही संघर्षको धरातलबाट दृढ सङ्कल्पका साथ उठेको एउटा गतिशील नाम हो- रमेश पराजुली।
आज दुई दशकभन्दा बढी समय पर्यटन क्षेत्रको साधना, अध्ययन र समर्पणमा बिताइसकेका पराजुली; नेपालको पर्यटन जगत्मा एक परिचित, जोसिलो र नवप्रवर्तनशील उद्यमीका रूपमा स्थापित छन्। रुप्से होलिडेज प्राइभेट लिमिटेड तथा रुप्से स्पोर्ट्स म्यानेजमेन्टका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ) पराजुलीले नेपाललाई विश्व पर्यटन मानचित्रमा नयाँ ढङ्गले चिनाउन निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।
रमेश पराजुलीको नेतृत्वमा सञ्चालित रुप्से होलिडेज (हत्तीसार, काठमाडौँ) ले स्थापनाकालदेखि नै ग्राहक तथा साझेदारहरूलाई गुणस्तरीय टुर प्याकेज र उच्च मूल्य अभिवृद्धि प्रदान गर्दै आएको छ। स्थानीय भूगोलको उत्कृष्ट ज्ञान र बलियो लजिस्टिक व्यवस्थापनमा पोख्त यस संस्थाले एडभेन्चर टुर, कल्चरल टुर, कन्फरेन्स, प्रोत्साहन भ्रमण र विशेष रुचि समूहहरूलाई झन्झटरहित सेवा दिइरहेको छ।
ग्राहकको बजेट र रुचि अनुसारको गन्तव्य सल्लाह, एयर टिकटिङ, ३ देखि ४ तारे होटल बुकिङ, भिसा तथा कागजात सहजीकरण र २४ सै घण्टा सहयोगी हातहरू उपलब्ध गराउनु रुप्सेको मुख्य विशेषता हो। हालसम्म ३५ भन्दा बढी गन्तव्य, १५३ होटल तथा रिसोर्टसँगको सहकार्यमा सयौँ सन्तुष्ट पर्यटकहरूलाई सेवा दिइसकेको रुप्से होलिडेजले विश्वभरका कर्पोरेट हाउस, ट्राभल एजेन्ट र संस्थाहरूलाई प्रामाणिक हिमाली अनुभव लगायत सेवाहरू उपलब्ध गराउँदै आएको छ।

रमेश पराजुली परम्परागत पर्यटन गन्तव्यमा रमाउने व्यवसायी मात्रै होइनन्; उनी नयाँ बजार र सम्भावनाको खोजी गर्ने दूरदर्शी उद्यमी हुन्। विश्वका १४० भन्दा बढी देशको प्रत्यक्ष भ्रमण गरिसकेका पराजुलीले अन्तर्राष्ट्रिय पर्यटनका सफल अभ्यासहरूलाई नजिकबाट नियालेका छन्। त्यही अनुभवको धरातलमा उभिएर उनले नेपाली पर्यटकहरूका लागि भियतनामलाई एउटा नयाँ, आकर्षक र पहुँचयोग्य गन्तव्यका रूपमा स्थापित गरे।
रुप्से होलिडेजमार्फत नेपाल-भियतनाम प्रत्यक्ष चार्टर उडान र औपचारिक टुर प्याकेजको सुरुआत गरेर उनले नेपाली पर्यटन क्षेत्रमा नयाँ आयाम थपे। पराजुलीले सुरु गरेको यही बाटोमा अहिले अन्य ट्राभल एजेन्सीहरूले समेत भियतनामी टुर प्याकेज बिक्री गर्न थालेका छन्। तर, उनको सोच केवल नेपालीलाई विदेश घुमाउने (आउटबाउन्ड) मा मात्र सीमित छैन; उनी भियतनामी पर्यटकलाई नेपाल भित्र्याउने (इनबाउन्ड) अभियानमा उत्तिकै सक्रिय छन्।
“यदि १०० जना नेपाली वैदेशिक भ्रमणमा निस्कन्छन् भने कम्तीमा १०० जना विदेशी पर्यटक पनि नेपाल भित्रिनुपर्छ,” पराजुलीको मूल व्यावसायिक दर्शन यही हो। आउटबाउन्ड र इनबाउन्ड पर्यटनलाई एकैसाथ सन्तुलनमा राखेर चार्टर उडानमार्फत दुवैतर्फका पर्यटक आवागमनलाई जोड्ने उनको अवधारणाले नेपालको पर्यटन उद्योगमा सन्तुलित, दिगो र परिणाममुखी विकासको ढोका खोलेको छ।
पर्यटनलाई भ्रमण र गन्तव्य अवलोकनमा मात्र सीमित नराखी खेलकुद, युवा र उद्यमशीलतासँग जोड्नुपर्छ भन्ने विचारका पक्षधर हुन् पराजुली। यही दृष्टिकोणलाई व्यवहारमा उतार्न उनले ‘रुप्से स्पोर्ट्स म्यानेजमेन्ट’ को स्थापना गरे।
खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उनी ललितपुर क्विन्स महिला भलिबल क्लबको अध्यक्षका रूपमा समेत कार्यरत छन्। महिला भलिबल लिगमा ललितपुर क्विन्स टिम रुप्से ग्रुपअन्तर्गत रुप्से स्पोर्ट्सको स्वामित्वमा रहेको छ। यसका साथै रुप्से होलिडेजले क्रिकेटलगायत विभिन्न राष्ट्रिय खेलकुद गतिविधिहरूसँग सहकार्य गर्दै खेलकुदको ब्रान्डिङ, प्रवर्द्धन र पर्यटनलाई एउटै धागोमा गाँस्ने काम गरिरहेको छ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २५औँ कार्यसमिति निर्वाचनमा पराजुलीले सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। आगामी साउन २९ गते (अगस्ट १४) मा हुने निर्वाचनमा उनले भरतजंग पाण्डेको नेतृत्वमा रहेको प्यानल (भरत एण्ड टिम) बाट उम्मेदवारी दिएका हुन्।

पर्यटन व्यवसायमा दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका पराजुलीले नाट्टालाई थप पारदर्शी, उत्तरदायी, परिणाममुखी र सदस्यकेन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ‘सशक्त नाट्टा, समृद्ध पर्यटन– सदस्यसँगै सदस्यका लागि’ भन्ने अभियानलाई व्यवहारमा उतार्ने बताएका छन् ।
नाट्टा सचिव पदमा निर्वाचित भए पर्यटन क्षेत्रको आधुनिकीकरण, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तार, नयाँ पर्यटन बजारको विकास र युवा उद्यमशीलताको प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने उनको योजना छ ।

पर्यटन व्यवसायी, सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउँदै पराजुलीले नीतिगत सुधारसँगै व्यवसायीका व्यावहारिक समस्या समाधानमा नाट्टाले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । उनका अनुसार नेपालको पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन नयाँ गन्तव्य र बजार पहिचान, प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सम्पर्क विस्तार तथा पर्यटकको अनुभव सुधारमा विशेष ध्यान दिन आवश्यक छ ।
नाट्टा निर्वाचनमा भरतजंग पाण्डेको नेतृत्वमा रहेको प्यानलले पर्यटन व्यवसाय सुधारका ११ संकल्प अघि सारेको छ । पराजुलीले उक्त संकल्पलाई कार्यान्वयनमा लैजान सदस्यहरूको सहभागिता र सुझावलाई प्राथमिकता दिने बताएका छन् । सदस्यको हितलाई केन्द्रमा राख्दै नाट्टालाई थप सशक्त र परिणाममुखी संस्था बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
