
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थान (डिडिसी)बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
आगामी भदौ १ गतेदेखि लागू हुने सम्झौताअनुसार नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्थाका साझेदार दुग्ध उत्पादक सहकारी संस्था तथा सदस्य किसानले दैनिक १५ हजार लिटर दूध डिडिसीलाई उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक डा. रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी र डिडिसीका महाप्रबन्धक डा. सरनकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।
लैनचौरस्थित डिडिसीमा भएको सम्झौतामा दूधको नियमित आपूर्ति, गुणस्तर कायम, संकलन केन्द्रमै दूधको मात्रा मापन तथा आवश्यक ढुवानी व्यवस्थालगायतका विषय समेटिएका छन्। यसअघि दुई संस्थाको सञ्जालमार्फत खरिद गरिएको दूधको बाँकी भुक्तानीसमेत डिडिसीले एक महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
सम्झौतापछि डिडिसीका महाप्रबन्धक पाण्डेले दुग्ध क्षेत्रको विकास र प्रवर्द्धनका लागि सम्झौता महत्त्वपूर्ण कदम भएको बताए । उनले विगतमा डिडिसीमा देखिएका भुक्तानीलगायतका समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाउँदै किसानलाई नियमित भुक्तानीको सुनिश्चितता गरिने बताए।
उनका अनुसार डिडिसीले दूध संकलन र बजारीकरणमा मात्र सीमित नभई पशुपालन तथा दुग्ध उत्पादनका अन्य क्षेत्रमा समेत काम गर्नेछ। किसानको जीवनस्तर सुधार र आर्थिक-सामाजिक रूपान्तरणमार्फत समग्र अर्थतन्त्रमा योगदान पुर्याउन सकिने उनले बताए।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले सम्झौताले किसानको आयआर्जन, उत्पादन र आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताए। डिडिसीलाई सुधार गर्दै अघि बढाउन किसान तहबाट समेत आवश्यक सहयोग हुनुपर्नेमा उनले जोड दिए।
पाठकले देशलाई दूधमा आत्मनिर्भर बनाउने अभियानमा किसानलाई जोडिन आग्रह गर्दै डिडिसीप्रतिको विगतको धारणा परिवर्तन गर्दै सुधारको सुरुवात भइसकेको बताए। उनले कामका क्रममा देखिएका कमजोरीबारे तत्काल सुझाव दिनसमेत आग्रह गरे।
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एकराज उप्रेतीले डिडिसीसँग भएको सम्झौता दुग्ध उत्पादक किसानका लागि ऐतिहासिक भएको बताए। उनका अनुसार संघको सञ्जालमा आबद्ध संस्थाहरूले हाल दैनिक करिब ४७ हजार लिटर दूध उत्पादन गर्दै आएका छन्।
तत्कालका लागि दैनिक १५ हजार लिटर दूध डिडिसीलाई उपलब्ध गराउने सम्झौता भए पनि आगामी दिनमा दूध उत्पादन बढाउँदै लैजान सम्झौताले प्रोत्साहन गर्ने उप्रेतीले बताए। दूध बिक्रीबापतको रकम समयमै प्राप्त हुने सुनिश्चितता हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
सम्झौता कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दीपाकर रुपाखेती, डिडिसीका उपमहाप्रबन्धक तथा कर्मचारीलगायतको सहभागिता थियो।