
काठमाडौं । सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग गरी सिर्जना हुने कन्टेन्टप्रति नेपाल प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी विभिन्न व्यक्ति तथा संघसंस्थाको कृत्रिम फोटो तथा भिडियो सिर्जना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्रहत्या गर्ने तथा अभिव्यक्ति संशोधन गरी आम जनमानसमा त्रास सिर्जना गर्ने गतिविधि बढेको जनाएको हो।
प्रहरीका अनुसार यस्ता गतिविधि नैतिक रूपमा गलत हुनुका साथै कानुनी रूपमा समेत दण्डनीय छन् । सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत कुनै व्यक्ति वा संघसंस्थाको चरित्रहत्या गर्ने, भ्रामक सामग्री फैलाउने वा समाजमा त्रास सिर्जना गर्ने कार्यमा संलग्नलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी प्रहरीले दिएको छ।
ब्युरोले अनलाइन माध्यममा भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगर्न र कुनै पनि सूचना विश्वसनीय स्रोतबाट पुष्टि गरेर मात्र आधिकारिक मान्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीले एआई तथा प्रविधिको प्रयोग गर्दा जिम्मेवार बन्न र सामाजिक सञ्जालमा प्राप्त सामग्रीको सत्यता परीक्षण गरेर मात्र त्यसलाई विश्वास तथा प्रसारण गर्न अनुरोध गरेको छ।
