
काठमाडौँ । कुनै समय थियो, काभ्रेपलाञ्चोक र सिन्धुपालचोकका केही स्थानहरु मिर्गौला तस्करीमा बदनाम थियो । औसतमा २ लाख रुपैयाँ दिएर भारत पुर्याइ उनीहरूको मिर्गौला विक्री गरिन्थ्यो ।
तर अधिकारकर्मी र प्रहरीको सक्रियताले भारत पुराएर मिर्गौला तस्करी गर्ने गिरोहका सदस्य प्रेम बजगाई लगायतका व्यक्तिहरू पक्राउ परेसँगै उक्त स्थानबाट हुने मिर्गौला तस्करीमा केही कमी आयो, तर निमिट्यान्न भने भएन ।
अहिले पनि सोही क्षेत्रका व्यक्तिहर मिर्गौला दाताका रुपमा नक्कली कागजात बनाएर मिर्गौला बेच्ने जोखिम मोलिरहेका छन् । मिर्गौला फेल भएका धनाढ्य बिरामीहरू भने करिब एक करोड रुपैयाँसम्म खर्च गरेर मिर्गौला किन्न तयार छन् ।
काठमाडौंँको सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेज एण्ड हस्पिटलमा लामो समयदेखि डाइलासिस गराइरहेका अर्घाखाँचीको साबिक मैदान गाविस वडा नम्बर ४ तथा परिवर्तित पामिणी गाउँपालिका ५ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २५ बस्ने ६५ वर्षीय शिवलाल बेल्वासेको मिर्गौला प्रत्यारोपण गर्ने कुरा भयो । दुवै मिर्गौला फेल भएका शिवलाललाई उनका छोरा वर्ष ३८ वर्षीय रुपेशजङ्ग बेल्वासेले मिर्गौला दिने भए ।
बुवाको मिर्गौला फेल हुँदा ३८ वर्षीय छोराले दिने भएपनि कानुनतः मिल्ने नै भयो । त्यसपछि अंग प्रत्यारोपणका लागि कागजात तयार हुन थाल्यो ।
ललितपुर महानगरपालिका वडा नम्बर-२५ बाट मिर्गौला प्रत्यारोपणका लागि दानकर्ता र ग्रहणकर्ताबिचको नाता प्रमाणित हुने गरी सिफारिसकका लागि शिवलाल बेल्वासे आफैले निवेदन दिए । कानुन बमोजिम निवेदन आएपछि वडा कार्यालयले पनि सम्पूर्ण कागजात हेरेर सिफारिस गरिदियो ।
यता सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज एण्ड हस्पिटलमा बुवा र बुवाको स्वास्थ्य परीक्षण समेत भयो । परीक्षणबाट दानकर्ता र ग्रहणकर्ता दुवैको म्याचिङ भएपनि अस्पतालको लिगल समितिमा कागजात पुग्यो ।
काउन्सिलिङको क्रममा कागजात भेरिफाई गर्दा केही कागजातमा कैफियत देखियो । दानकर्ता छोरा अर्थात् रुपेशजङ्ग बेल्वासेको नागरिकता र राष्ट्रिय परिचयपत्रमा भएको फोटो र अस्पतालमा उपलब्ध गराइएको फोटोमा केही भिन्नता जस्तो देखियो । त्यसबाहेक अस्पतालमै उपस्थित व्यक्ति र नागरिकता तथा राष्ट्रिय परिचयपत्रमा रहेको व्यक्तिको फोटो फरक जस्तो लागेपछि अस्पतालले केरकार गर्न थाले । केरकारका क्रममा झनै बढी शंकास्पद व्यवहार देखिएपछि अस्पतालले सो को जानकारी प्रहरीलाई गराई भेरिफाईका लागि सहयोग गरिदिन आग्रह गरे ।

..त्यसपछि भागे अंग ग्रहणकर्ता शिवलाल
जब अस्पतालको केरकारमा फरक दृश्य देखिन थाल्यो, त्यसपछि अस्पतालले प्रहरीलाई खबर गरे । प्रहरीलाई खबर गरेको जानकारी पाउनेबित्तिकै मिर्गौला ग्रहणकर्ता शिवलाल बेल्वासे पिसाब गर्न जान्छु भन्दै बाहिर निस्किएकामा उनी त्यहीँबाट फरार भए । त्यहीबिचमा प्रहरी पनि अस्पतालमा आइपुग्यो । त्यसपछि आफू शिवलालको छोरा रुपेश जंग बेल्वासे भनेर परिचय दिएका व्यक्ति पनि भाग्न लागेपछि प्रहरीले तत्काल नियन्त्रणमा लियो ।
नक्कली छोराको नाममा ८ लाखमा विक्री हुँदै थियो मिर्गौला
जब प्रहरीले शिवलाल बेल्वासेका छोरा भनी परिचय गराएका व्यक्तिलाई पक्राउ गर्यो, उनी शिवलाल बेल्वासेका छोरा रुपेश जंग बेल्वासे नभई सिन्धेपाल्चोकको बलेफी गाउँपालिका ६ का ३६ वर्षीय नवीन तिमिल्सिना भएको खुल्यो । प्रहरीको अनुसनधानका क्रममा नवीनले आफू कसरी शिवलाल बेल्वासेको छोरा बनेर अस्पतालमा आए, उनलाई कसले कति रकम दिने भनेर प्रलोभनमा पारे र त्यसका लागि उनले के के गरे भनेर बेलिबिस्तारमा सुनाए । प्रहरीसँगको बयानका क्रममा तिमिल्सिनाले आफू ज्यामी काम गर्ने व्यक्ति भएको र आफूलाई ८ देखि १० लाख रुपैयाँ दिनेर मिर्गौला बेच्न भनिएको र आफू गरिब भएको कारण प्रस्ताव स्वीकार गरेको बयान दिए ।
यस्तो छ, नवीनले प्रहरीमा दिएको बयान:
‘मेरो बाबुको नाम …..तिमल्सिना र आमाको नाम …. तिमल्सिना हो । मेरी पत्नीको नाम …. चौलागाईँ हो । हाल मेरो घरमा कोही पनि सदस्य छैनन् । म ६ वर्षको बालक छँदै मेरी आमा दोस्रो विवाह गरी जानुभएको थियो । मेरो विवाह भएको ७ वर्षको अन्तरालमा मेरी श्रीमती एक छोरा र एक छोरीसहित मलाई छाडी दोस्रो विवाह गरी गइसकेकी छिन् । म हाल गाउँमै एक्लै बस्दै आएको छु । मेरा दुई दाजुहरू मध्ये जेठो दाजु …. तिमल्सिना चितवनमा र माइलो दाजु … तिमल्सिना हेटौँडामा छुट्टाछुट्टै बस्दै आउनु भएको छ । पारिवारिक परिस्थितिका कारण मेरो उहाँहरूसँग कुनै पनि सम्पर्क र सम्बन्ध छैन । मेरो नाममा चल–अचल कुनै पनि जग्गा जमिन र सम्पत्ति समेत छैन । म सानै छँदा आमाले छाडेर गएपछि म काठमाडौँ आएर निर्माण कार्य सम्बन्धी ज्यामीको काम गरी आफ्नो जीविकोपार्जन गर्दै आएको छु । श्रीमतीले समेत परित्याग गरेपछि मैले अर्को विवाह गरेको छैन । ललितपुर महानगरपालिका लगनखेल स्थितमा काम गर्ने क्रममा अन्दाजी ४४–४५ वर्षको विनोद भन्ने मानिससँग (फोन न.९७१२०४९***) भेट हुँदा भाइ तिमी के काम गर्छौ भनि सोधेकोमा मैले ज्यामीको काम गर्छु भनेको थिएँ । त्यस पश्चात निजले मसँंग कुनै काम आयो भने भनौला भनि मलाई भनेका थिए । त्यसको ३।४ दिनपछि पुनः निजसँग भेट हुँदा एकजना मिर्गौला रोगी छ, त्यसलाई मिर्गौलाको आवश्यक छ, तिमीले आफ्नो मिर्गौला दियौ भने ८–१० लाख पैसा तिमीलाई हुन्छ भनेकोले मलाई पैसाको आवश्यक रहेको कारण मैले निजको कुरामा सहमति जनाएँ । त्यसको ३।४ दिनपछि लगनखेलको पिपलोटनिर निज विनोद तथा मसँग मिर्गौला लिने शिवलाल बेल्वासेसँग भेट भई कुराकानीका क्रममा निज शिवलाल बेल्वासेले आफ्ना दुवै मिर्गौला खराब भई नियमित डायलाइसिस गराइरहेको छु, मिर्गौला प्रत्यारोपणका लागि दाताको खोजीमा रहेको छु; यदि तपाईले आफ्नो मिर्गौला दिएमा आफूले राम्रो रकम उपलब्ध गराउने आश्वासन समेत दिएका थिए । अत्यन्तै विपन्न आर्थिक अवस्था, पारिवारिक एक्लोपन र गर्जो टार्ने आशमा परी मैले निजलाई मिर्गौला दिन मञ्जुर गरेको थिएँ । त्यसपश्चात् अर्को दिन भैंसेपाटी आवास गेटनिर भेट भई कुरा हुँदा कानूनी रूपमा आफ्ना नातेदारले मात्र मिर्गौला दान गर्न मिल्छ । सबै प्रक्रिया र कागजातहरू म आफैँ मिलाउँछु, तिमी छोरा हो भनी भनिदिनू भनी मलाई सिकाएका थिए । मैले सो कुरामा सहमति जनाएँ । सो पछि निज शिवलाल बेल्वासेले मलाई रु. ३०० दिई स्टुडियोमा फोटो खिच्न पठाएका थिए । मैले १२ वटा फोटो ल्याएर विनोद भन्नेलाई दिएको थिएँ । मैले सो फोटो निजलाई दिएको करिब २ महिनापछि निज शिवलाल बेल्वासेले आफ्नो मोबाइल नम्बर ९८५१०१८*** बाट मेरो ९७१४०२८*** नम्बरको फोनमा मलाई फोन गरी काठमाडौँ मेडिकल कलेज (केएमसी), सिनामंगलमा आउनु भनी मलाई बोलाएका थिए । ३ पटक सो अस्पतालमा गई मेडिकल जाँच भएको हो । म पक्राउ पर्नुभन्दा करिब ७।८ दिन अगाडि पनि सो अस्पतालमा दुबै जना गएका थियौँ । सो दिन अस्पतालमा काम नभएको र पछि फोन गरेपछि आउनु भनेकाले म खाजा खाई आफ्नो कोठातर्फ फर्किएको थिएँ । पुनः मिति २०८३।०३।३० गतेका दिन निज शिवलाल बेल्वासेले आज काम हुन्छ, अस्पताल आउनू भनी बोलाएकाले म अस्पताल आएको थिएँ । अस्पतालमा पेस गरिएका कागजातहरू अस्पतालमा छानबिन र रुजु गर्दा कैफियत फेला परेको र सो कागजातहरू नक्कली प्रमाणित भई कानुनी कारबाहीका लागि प्रहरी बोलाउने तयारी भइरहेको हल्ला सुनेपछि, निज शिवलाल बेल्वासे मलाई सोही स्थानमा अलपत्र छोडी फरार भएका हुन् । तत्पश्चात् मलाई अस्पताल परिसरबाटै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।’

यसरी ६५ वर्षीय मिर्गौला रोगी शिवलाल बेल्वासेले आफूलाई आवश्यक मिर्गौला किन्नका लागि विनोद नाम गरेका बिचौलियामार्फत नवीनको सम्पर्कमा पुगेको पाइएको छ । यसरी मिर्गौलाको अवैध खरिदविक्रीमा शिवलाल, उनका छोरा रुपेशजङ्ग वेल्वासले, बिचौलिया विनोदको संलग्नतामा नवीनसँग कुरा गरिएको थियो ।
को थिए बिचौलया विनोद ?
प्रहरीको अनुसनधानका क्रममा आफूलाई विनोद भनी परिचय गराएका व्यक्ति थिए, काभ्रेपलान्चोकको साविकको देवभुमि बालुवा गाविस ८ तथा परिवर्तित पाँचखाल नगरपालिका ११ का ५० वर्षीय विनोद सार्की । उनै विनोदको मध्यस्थतामा शिवलालले नवीन तिमिल्सिनालाई नक्कली छोरा बनाएर मिर्गौला प्रत्यारोपण गर्ने दुस्प्रयास गरेका थिए ।
यो अपराधमा प्रत्यक्षरुपमा जोडिएका विनोद भने नवीन पक्राउ परेसँगै फरार भएका छन् । विनोदसँगै मिर्गौला ग्रहणकर्ता शिवलाल बेल्वासे र उनका छोरा डा. रुपेजजङ्ग बेल्वासे पनि फरार भएका छन् ।
६० लाखमा भएको थियो किनबेचको डिल
यो अपराधको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार यो किनबेचको डिल ६० लाख रुपैयाँमा भएको थियो । शिवलालले यदि मिर्गौला दाता भेटिएमा ७० लाख रुपैयाँसम्म खर्च गर्ने भनी पहिले मिर्गौला तस्करीमा बदनामी कमाएको पाँचखाल क्षेत्रमा विनोदलाई भनेका थिए । उनै विनोदले ज्यामी काम गर्ने नवीन तिमिल्सिनालाई फेला पारी केवल ८ लाख रुपैयाँ दिने गरी तयार पारेका थिए ।
घटनाको अनुसन्धान गरेका प्रहरी अधिकारीले दियोपोस्टसँग भने, ‘यहाँ मिर्गौला बेच्ने तयार हुनेले जम्मा ८ लाख पाउने कुरामा सहमति भएको देखिन्छ भने दिने व्यक्तिले ७० लाख रुपैयाँसम्म दिने कुरामा सहमति जनाएको देखिन्छ । तर करिब ५० देखि ६० लाख रुपैयाँ भने बिचौलियाले खान खोजेको पाइएको छ ।’
वडामा सक्कली छोरा, अस्पताल आइपुग्दा नक्कली छोरा र नक्कली फोटो
प्रहरीको अनुसनधानका क्रममा ललितपुर महानगरपालिका वडा नम्बर २५ बाट सिफारिस लिने क्रममा शिवलाल बेल्वासेका छोराको नाम, उमेर, कागजात तस्बिर आदि सबै सक्कली नै हालेको पाइएको छ । वडाले दिएको नाता प्रमाणितको कागजातमा पनि सबै कुरा सक्कली नै रहेको देखिन्छ ।
तर जब अस्पतालमा कागजात आइपुग्यो, छोराको फोटोमा नवीन तिमिल्सिनाको फोटो टाँसियो । सक्कली छोरा रुपेशजङ्ग बेल्वासेको फोटो उप्काएर उक्त स्थानमा नवीनको फोटो टाँसेर अस्पतालमा पेस गरियो । तर नागरिकता र राष्ट्रिय परिचयपत्र भने रुपेशको नै दिइयो ।

अस्पतालको सुझबुझले रोकियो तस्करी
जब नवीनको स्वास्थ्य परीक्षण लगायतका कामकाज सकियो, अंग दान र अंग ग्रहण गर्न योग्य देखिएपछि अस्पतालको प्रशासनमार्फत लिगल टिमले कागजातको अध्ययन गर्यो । कागजात हेर्दै जाँदा नागरिकता र राष्ट्रिय परिचयष्पत्रमा रहेको फोटो र फारममा टाँस गरिएको फोटो फरक जस्तो देखियो । त्यसपछि अझ विस्तृतमा कागजातको अध्ययन गर्दा कैफियत भेटियो ।
कागजातमा कैफियत भेटिएपछि अस्पतालले ग्रहणकर्ता र दानकर्ता दुबैलाई बोलाएर कुरा गर्ने निर्णय गर्यो र बोलाइयो । अस्पतालले अंग दानकर्तालाई तीनपुस्ते विवरणहरु सोध्ने काम गर्यो । नवीनले सही जवाफ नै दिन सकेनन् । त्यसपछि अस्पतालले प्रहरीलाई नै बोलायो ।
जब अस्पतालले यो विषयमा प्रहरीलाई खबर गर्यो, त्यसपछि शिवलाल बेल्वासे पिसाब गर्न जान्छु भन्दै बाहिर निस्किएर भागे । त्यसपछि नवीन पनि भाग्न खोज्दै गर्दा प्रहरी आइपुग्यो र नवीनलाई नियन्त्रणमा लियो । त्यसपछिको केरकारमा नवीनले आफूले ८ लाख रुपैयाँको लोभमा मिर्गौला बेच्न लागेको बयान दिए ।
प्रहरीको अनुसन्धानमा यो अपराधमा मिर्गौला ग्रहणकर्ता शिवलाल बेल्वासे, उनका छोरा डाक्टर समेत रहेका रुपेश जंग बेल्वासे र बिचौलिया विनोद सार्कीको प्रत्यक्ष संलग्नता देखियो । मिर्गौला दानकर्ता भनिएका नवीन तिमिल्सिनाको गरिबीको फाइदा उठाएर धनी परिवारका शिवलालले मिर्गौला किन्न करिब ७० ख रुपैयाँ खर्च गर्न लागेका थिए । नवीनसँग शिवलालका छोरा रुपेश जंग बेल्वासेले पनि कुराकानी गरेको पाइएको छ, जसका कारण उनलाई पनि प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । यद्यपि गरीब परिवारका नवीनलाई प्रहरीले पक्राउ गरेपनि मिर्गौला ग्रहणकर्ता भनिएका शिवलाल बेल्वासे, उनका छोरा डाक्टर रुपेश जंग बेल्वासे र बिचौलिया विनोद सार्की भने फरार भइसकेका थिए ।
२ लाख धरौटी बुझाउन नसकेर जेल गए नवीन
यता काठमाडौँ जिल्ला अदालतमा चलेको ‘मानव शरीरको अंग प्रत्यारोपण कसुर सम्बन्धी उद्योग र लिखत सम्बन्धी कसूर’मा काठमाडौँ जिल्ला अदालतमा साउन २२ गते मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा साउन २५ गते थुनछेक सुनुवाइ हुँदा न्यायाधीश ध्रुबकुमार ढकालको इजलासले प्रतिवादी नवीन तिमिल्सिनासँग २ लाख रुपैयाँ धरौटी माग गरेका थिए । तर अदालतले मागेको धरौटी बुझाउन नसकेपछि नवीन जेल चलान भएका छन् ।
