
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । जनआस्थाका सम्पादक श्रेष्ठलाई काठमाडौँ प्रहरीले बुधबार राति ललितपुरको बागडोलबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐनको कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । जनआस्थाले साउन २५ गते सप्तरी क्षेत्र नम्बर-३ का सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक समाचार प्रकाशन गरेको थियो । समाचारमा फोटो र पहिचानसमेत खुल्ने गरी प्रकाशन भएपछि ती युवतीले जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएकी थिइन् । युवतीको जाहेरी दर्ता भए लगत्तै प्रहरीले बुधबार नै श्रेष्ठलाई पक्राउ गरेको हो ।
ती युवती आफैले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट सांसद चौधरीसँग चुम्बन गरिरहेको अन्तरङ्ग तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यही तस्बिर बाहिर आएपछि पत्रकार किशोर श्रेष्ठले उक्त विषयलाई समाचार बनाएका थिए ।
तर पछि युवतीले उक्त तस्बिर एआईबाट बनाइएको तथा आफ्नो फेसबुकसमेत ह्याक भएको दाबी गरेकी थिइन् । यद्यपि अहिले फेसबुकले नै एआईबाट बनाएको तस्बिरलाई एआई कन्टेन्ट भनी उल्लेख गर्ने गरेको छ । तर युवतीले आफ्नो सामाजिक सञ्जालमा उक्त तस्बिर पोस्ट गर्दा एआई तस्बिर भनिएको छैन ।
युवतीले आफ्नो फेसबुक समेत ह्याक भएको भनेर दाबी गरेकी छिन् । यद्यपि उनको फेसबुक ह्याक भएको हो कि होइन, उक्त पोस्ट उनी आफैले गरेकी हुन् कि अन्य कसैले गरेका हुन् भनेर प्राविधिक परीक्षण भने भएको छैन ।
मंगलबार साइबर ब्युरोले सम्झाएर पठाएको थियो ।
आफ्नो बारेमा समाचार प्रकाशन भए लगत्तै मंगलबार ती युवती उजुरी लिएर साइबर ब्युरोमा पुगेकी थिइन् । उनले जाहेरी दर्ता गरी तत्काल श्रेष्ठलाई पक्राउ गर्न भनेकी थिइन् । ब्युरो स्रोतका अनुसार युवतीले उक्त तस्बिर सक्कली हो कि एआई हो र फेसबुक ह्याक भएको हो कि होइन भन्दा पनि आफूलाई अप्ठेरो परेकाले जाहेरी दर्ता गरी समाचार हटाउन लगाउन आग्रह गरेको ब्युरोका एक अधिकृतले दियोपोस्टलाई बताए ।
तर ब्युरोले ती युवतीलाई सम्झाई बुझाई गरी यथावस्थामा समाचार आएकै कारण पक्राउ गर्न नसकिने र कतिपय विषयमा प्राविधिक विश्लेषण हुनुपर्ने भन्दै राति १० बजे घर पठाइदिएको ब्युरो स्रोतले बतायो ।