
काठमाडौँ । टिकटकर तुल्सी अधिकारीले थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाऊँ भन्दै दिएको निवेदन उनकै कानुन व्यवसायीले स्थगित गराएका छन् । बिहीबार उच्च अदालत पाटनमा उनले दिएको निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएपछि कानुन व्यवसायीले स्थगित गराएका हुन् ।
आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतले टिकटकर अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशपछि कारागार पुगेकी उनले थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्दै उच्च अदालत पाटनमा ७३ नम्बरको निवेदन दिएकी थिइन् ।
उक्त निवेदनमाथि यसअघि साउन २१ गते सुनुवाइको लागि पेसी तोकिएको थियो । त्यति बेला न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र कृष्ण मुरारी शिवाकोटीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएकामा सरकारी वकिलको तर्फबाट स्थगित गराइएको थियो । सरकारी वकिलको कार्यालयले मिसिल ठुलो रहेको र अध्ययन गर्न नभ्याइएको भन्दै त्यति बेला स्थगित गरेका थिए ।
साउन २८ गते बिहीबार उक्त निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशद्वय ऋषिराम निरौला र कविप्रसाद न्यौपानेको इजलासमा पेसी तोकिएको थियो । साउन २८ गतेको पेसी भने प्रतिवादी रहेकी निवेदन तुल्सी अधिकारीकै कानुन व्यवसायीबाट स्थगित गराइएको छ ।
सामान्यतः मुद्दाको सुनुवाइमा सहभागी हुन नसक्ने भएमा पेसी तोकिनुभन्दा अगावै अदालतमा दिनुपर्ने व्यवस्था छ । तर अधिकांश अवस्थामा पेसी तोकिएपछि आफू अनुकूल आदेश वा फैसला आउन नसक्ने अनुमान गरी वादी वा प्रतिवादीका कानुन व्यवसायीबाट स्थगित गराउने गरिएको छ ।
थुनामा रहेका व्यक्तिको निवेदन अगाडि रही सुनुवाइ हुने भए पनि बिहीबार तुल्साको सुनुवाइ आफ्नै कानुन व्यवसायीले स्थगित गराएकाले अब सम्भवतः आगामी बिहीबार अर्थात् भदौ ४ गतेका लागि सुनुवाइका लागि पेसी तोकिने छ ।