
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीका विभिन्न स्थानमा सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनको सिक्री लुटपाटमा संलग्न भोजपुर रामप्रसादराई गाउँपालिका-२ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने ३२ वर्षीय योगेन्द्र तामाङ र रामेछाप दोरम्बा गाउँपालिका-२ ढोईगाउँ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ पेप्सिकोला बस्ने ३६ वर्षीय काले भन्ने देवेन्द्र थापा मगर रहेका छन्।
त्यस्तै, चोरी भएको सुन खरिद गर्ने आरोपमा भोजपुर रामप्रसादराई गाउँपालिका-६ मालबासे घर भई काठमाडौँ महानगरपालिका-१८ नरदेवी बस्ने ४० वर्षीय मिलन विक र भारतको पश्चिम बंगाल, कलकत्ता घर भई काठमाडौँ महानगरपालिका-१८ भेडासिंह बस्ने ४० वर्षीय संजित साम्नत पक्राउ परेका छन्।
प्रहरीका अनुसार गत असार २६ गते मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित बिग मार्ट नजिक तथा असार ३० गते लोकन्थली हनुमान चोकमा मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्तिले पैदल हिँडिरहेका महिला तथा ज्येष्ठ नागरिकको घाँटीमा लगाएको सुनको सिक्री जबर्जस्ती तानेर फरार भएका थिए।
घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।