५ लाख घुससहित पक्राउ परेका कर अधिकृत र चार्टर एकाउन्टेन्टविरुद्ध मुद्दा दायर

दियोपोस्ट संवाददाता

सिरहा । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एम.एम. र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार लेखापरीक्षणका लागि पेस गरिएका कागजात नमिलेको भन्दै सेवाग्राहीलाई दुःख, हैरानी दिई घुस मागेको सूचनाका आधारमा दुवै जनालाई ५ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको थियो ।

चार्टर्ड एकाउन्टेन्ट यादवले कर अधिकृत युवराज एम.एम.सँग मिलेमतो गरी सेवाग्राहीको काम मिलाइदिने भन्दै रकम मागेको आयोगको आरोप छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुर गरेको भन्दै सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना मागदाबी गरिएको आयोगले जनाएको छ ।

आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो ।

सम्बन्धित खबर

सिफारिस