
मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१९ बासुदेवस्थित खहरे खोलाले बगाएर बेपत्ता भएका चार बालिकामध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको उद्धार गरिएको छ । खोलाले बगाएका दुई बालिका भने अझै बेपत्ता छन् ।
घटनापछि तत्काल खोज तथा उद्धारमा खटिएको प्रहरी टोलीले घटनास्थलबाट करिब ५ सय मिटर तल ८ वर्षीया रोशनी स्याङतानलाई रुखको जरामा अड्किएको अवस्थामा फेला पारेको थियो । उद्धार गरी अस्पताल पुऱ्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका मकवानपुर प्रहरीले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता भएका ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलनको भने खोजी भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता बालिकाको खोजी तथा उद्धारका लागि बागमती प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म हेटौँडाबाट प्रहरी निरीक्षक विजय राज तिमल्सिनाको कमाण्डमा ११ जना प्रहरी परिचालन गरिएको छ । यस्तै, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौँडाबाट १७ जनाको टोली तथा नेपाली सेनाको टोली पनि खोजी कार्यमा खटिएको प्रहरीले जनाएको छ ।
मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार खोलाले बगाएकी १३ वर्षीया सीमा भोलन भने आफैँ खोलाबाट निस्कन सफल भएकी थिइन् । घाइते अवस्थामा उद्धार गरिएकी उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
मंगलबार साँझ करिब ५.५५ बजे निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्किने क्रममा चार बालिकालाई खहरे खोलाले बगाएको थियो ।